रौतहटका उखु किसानको उखुको मूल्य भुक्तानीको लागि काठमान्डौमा सहमति भएको छ । गत दुई आर्थिक वर्षको करिब ७२ करोड रुपैया भुक्तानीको लागि बाँकी रहेको भन्दै रकमको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका उखु उत्पादक संघ रौतहट र उद्योग सञ्चालक बीच उद्योग मन्त्री नवीन्द्रराज जोशीको समन्वयमा शनिवार पाँच बुँदे सहमति भएको छ ।
किसानहरुको आन्दोलनले पनि उद्योगतिको ध्यान नतानिएपछि समस्या लिएर किसानहरुको प्रतिनिधिमन्डल काठमान्डौँ बुधवार काठमान्डौँ पुगेको थियो । उद्योग मन्त्रालयमा मन्त्री जोशीलाई भेटेर समस्या सुनाएको थियो । उद्योगमन्त्री जोशीको पहलमा दुई पक्षबीच वार्ता भएर किसानको सम्पूर्ण रकम भुक्तानीको सहमति भएको हो ।
सहमतिअनुसार २०७१ सालको फागुन मसान्तसम्म किसानले उद्योगलाई उपलब्ध गराएको उखुको मूल्य करिब ११ करोड रुपैया दशैको फूलपातीभन्दा पहिले नै उद्योगले भुक्तानी गर्ने छ । २०७१ चैतमा उद्योगलाई बेचेको उखुको मूल्य तिहार तथा छठको विदा हुनुअगावै भुक्तानी दिइसक्नु पर्ने छ ।
उद्योगको तर्फबाट हितेश गोल्छा र ललित कुमार अग्रवालले र उखु उत्पादक संघको तर्फबाट अशोक प्रसाद यादव, राम प्रमोद यादव, रामसिंह राय यादव र मनोज कुमार सहनीको हस्ताक्षर रहेको सहमतिपत्रमा २०७२ को सम्पूर्ण बाँकी बक्यौता रकम संघ र उद्योगको सहमतिअनुसार भुक्तानी गर्ने जनाइएको छ । यसैगरी आ.व.२०७३।०७४मा उद्योगले किन्ने उखुको भुक्तानी उखु किन्दै जाने तालिकाअनुसार भुक्तानी गर्दै जाने र कम्तीमा १५ लाख क्वीन्टल उखु संकलन गर्न दुवै पक्ष प्रयासरत रहने द्विपक्षीय सहमति भएको संघका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् ।
No comments:
Post a Comment