चिसापानी (कैलाली), १५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाली जिल्लामा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आज सो आयोजनाको स्थलगत निरीक्षणपछि उपस्थित आयोजनाका कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले काम गुणस्तरीय र प्रतिस्पर्धी ढङ्गबाट गर्नुपर्दछ भन्नुभयो ।
उहाँले विकास निर्माणका काममा बजेटको समस्याबारेमा कुनै चिन्ता नलिन आग्रह गर्दै भन्नुभयो–“तर काम गुणस्तरीय र समयमै हुनुपर्दछ ।’’ उहाँले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुको आफैँले निरीक्षण, अनुगमन गर्ने प्रतिबद्धताबमोजिम यो आयोजनाको पनि निरीक्षण गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले उत्पीडित जनताको पक्षमा काम गर्न आफू लागिपरेको बताउँदै परिवर्तनको अनुभूति दिने सङ्कल्प गर्न आग्रह गर्नुभयो ।
उहाँले मधेसी, थारु आदिवासी जनजातिका असन्तुष्टिका माग सम्बोधन गर्ने गरी अगाडि बढेको उल्लेख गर्दै भन्नुभयो–‘‘विकास निर्माण, पुनःनिर्माण, संविधान कार्यान्वयन, सुशासन सरकारका प्राथमिकताका विषय हुन् ।’’
जनभावनाअनुसार काम हुन नसकेमा ऐतिहासिक राजनीतिक परिवर्तन धरापमा पर्नसक्ने उल्लेख गर्दै उहाँले संविधान संशोधनको तयारी भइरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
सो अवसरमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यले आयोजना निर्माणको कार्य प्रगति तथा समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णाली मुहान भएको यो आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत पूरा भएको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।
विसं २०६६ देखि निर्माण थालिएको यो आयोजना विश्व बैंकको अनुदान तथा ऋण सहयोगमा तथा नेपाल सरकारको समेत लागतमा निर्माण भइरहेको छ । आव २०७४÷७५ सम्म निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको यो आयोजनाको मुख्य मुहान अर्थात इन्टेकको निर्माण कार्य पूरा भइसकेको छ ।
मुल नहरको लम्बाइ ११ किमी र फिडर नहर करिब २० किमी रहेको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि कैलालीको टीकापुर नगरपालिका र चुहा नगरपालिका तथा त्यस आसपासका गाविसको २० हजार ३०० हेक्टर क्षेत्रफलको जग्गा वर्षैभरि सिँचित हुनेछ ।
No comments:
Post a Comment