Friday, November 11, 2016

नयाँ १० सहर आयोजनाको एकीकृत विकास योजना अन्तिम चरणमा

काठमाडौँ, २६ कात्तिक । मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएको छ ।

आव २०६७-०६८ देखि पूर्वाधार निर्माणका लागि १० सहर छनोटको काम सुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई सहरलाई व्यवस्थित सहर बनाउन सो कार्यक्रम सुरु भएको हो ।

सहर छनोट गरी तीन वर्ष अघिदेखि १० सहरलाई २० वर्षमा एक लाख जनसङ्ख्या अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकासको काम गर्न एकीकृत विकास योजना निर्माण अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका इन्जिनियर शान्तिवदन श्रेष्ठले बताउनुभयो ।

“दुई सहर हेर्ने गरी एक जना परामर्शदाताले एकीकृत विकास योजना निर्माण गर्नुभएको छ, १० वटै सहरमा समन्वय कार्यालय खुलेर काम सुरु भएकोे छ, यस वर्ष आयोजनाका लागि रु एक अर्ब एक करोड ११ लाख ४४ हजार बजेट विनियोजन भएको छ”– उहाँले भन्नुभयो ।

आव २०७१-२०७२ देखि १० वटै सहरमा पूर्वाधार निर्माणको काम सुरु भएको आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिनुभयो । “चालु आवको अन्तसम्म योजना निर्माण सक्ने गरी काम भइरहेको छ”–उहाँले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...