Monday, December 19, 2016

वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुपर्छ : श्रममन्त्री गुरुङ

काठमाडौँ, ४ पुस । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चार प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा सञ्चारकर्मीको भूमिका’ विषयक गोष्ठीमा मन्त्री गुरुङले बढ्दो वैदेशिक रोजगारीले समाजमा विकृति बढ्नुका साथै मुलुकमा युवा शक्तिको कमी हुँदै गएको बताउनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन अपरिहार्य रहेकामा जोड दिँदै उहाँले यसमा सरकारका साथै सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा वैदेशिक प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीमा देखिएका समस्या र चुनौती राष्ट्रिय नीतिको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै यस्ता समस्या समाधानका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

पूर्व श्रम सचिव बाबुराम आचार्यले तत्काल वैदेशिक रोजागारीको कुनै विकल्प नभएको चर्चा गर्र्दै सरकारले कामका लागि विदेश जाने युवाका लागि सरकारी प्रक्रिया सहज र पहुँचयोग्य बनाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाह, सञ्चार प्रतिष्ठानका कार्यबाहक अध्यक्ष सनत आचार्य, एम्नेष्टी इन्टरनेसनलका अध्यक्ष राजन कुइँकेललगायतले भरपर्दाे सूचना नपाएर वैदेशिक रोजगारीमा जाने युवाले दुःख पाउने गरेको बताउँदै त्यसमा सञ्चारमाध्यमले उपयुक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार प्रमोद दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पत्रकार प्रदीप चापागार्इंले त्यसमा टिप्पणी गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...