काठमाडौं, १३ पुस । स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत भएका छन् । र, सरकारले एक हप्ताभित्र मिति घोषणा गर्ने भएको छ ।
बुधबार कांग्रेस, एमाले र माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एक हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा एमालेले पहिला स्थानीय तहको निर्वाचन गर्नुपर्ने कुरा उठाएको र त्यसमा कांग्रेस–माओवादीले सहमति जनाएको बताए ।
‘स्थानीय तह पुनर्संरचनाको प्रतिवदेन आइसकेकाले पहिला स्थानीय तहको निर्वाचन गरौं भन्ने कुरा एमालेबाट आयो,’ उनले भने– ‘कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको सहमति हुन्छ भने पहिला स्थानीय तहकै गरौं । हाम्रो पार्टीलाई मान्य छ भन्नुभयो । माओवादी पनि सहमत छ ।’
नेता श्रेष्ठका अनुसार संविधान संशोधनका विषयमा भने एमालेसँग कुरा मिल्न सकेन् । संशोधनमा सहमति खोज्न अब दलीय रुपमा छलफल गर्ने समझदारी बैठकमा भएको थियो ।
सरकारले अबको एक हप्ताभित्र निर्वाचनको मिति घोषणा श्रेष्ठको भनाई छ । ‘स्थानीय तहको निर्वाचन गर्न तीन सहमत भएका छन् । सरकारले अब निर्वाचन घोषणा गर्छ,’ उनले भने ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन गर्ने विषयमा सबै दल सहमत भएको बताए । ‘हामीले स्थानीय तहको निर्वाचन गरेर जाऔं भन्यौं,’ रावलले भने- ‘उहाँहरुले ठिक छ भन्नुभयो । चुनाव गर्ने विषयमा सबै दल एकमत छन् । संशोधनमा भने हाम्रो अडान यथावत छ ।’
गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले बैठकमा निर्वाचन र संशोधनबारे छलफल भएको बताउँदै केही दिनभित्र सहमति हुने दाबी गरे । ‘बैठकमा सबैले आ–आफ्नो धारणा राखे । अब केही दिनमा सहमति हुन्छ ।’
No comments:
Post a Comment