Thursday, December 15, 2016

नेपाल डायरी, एक महिने नेपाल भ्रमणमा यस्तो भोगियो –विकासराज न्यौपाने

bikash-news-photo
गत महिना म नेपाल रहँदा प्राय जमघटमा यही प्रश्नको सामना गर्नु प¥यो । नेपाली समुदायबीच अमेरिकामा जति चासोको विषय थियो राष्ट्रपतिको निर्वाचन । नेपालमा त्यो भन्दा कम्ति थिएन ।
अमेरिकी निर्वाचनका सन्दर्भमा नेपालमा भेटिएका नेपालीका चासो तीन प्रकारका थिए ।
पहिलो, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अवस्था कस्तो छ ? उनले जित्छन् कि जित्दैनन ? उनले जिते भने अमेरिकामा रहेका नेपालीलाई कस्तो असर पर्ला ? अमेरिकामा रहेका नेपालीका आफन्त, परिवारका सदस्यहरुमा यस्तो चासो ज्यादा थियो ।
दोस्रो चासो देखिन्थ्यो, डोनाल्डले जितिदिए पनि हुन्थ्यो । अमेरिकामा रहेका नेपालीलाई उनले गोर्खेलौरी लगाएर खेदेर नेपालनै पठाइदिउन् । यस्तो कामना गर्नेमा जसरी भएपनि अमेरिका पस्ने योजना सफल नभएकाहरुको वाहुल्यता थियो ।
तेस्रो चासो थियो, नयाँ राष्ट्रपति आएपछि कतै डिभी चिठ्ठा खारेज त गर्दैनन् ? कमसेकम अमेरिका सहज रुपमा जाने एउटा माध्यम त छ यो डिभी ।
मतगणना नहुँदासम्म डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित्ने अनुमान थियो । मिडियामा आएको प्राय सवै मतसर्वेक्षणले पनि यही देखाएका थिए । यही आधारमा यो प्रश्नमा सबैको जवाफ हुन्थ्यो–हिलारीले नै जित्छिन् । हिलारीसँग नेपालीको केही निकटता थियो । उनी प्रथम महिला हुँदा छोरी चेल्सीका साथ नेपाल घुमेकी थिईन । मेरो गृहनगर चिवतन पुगेर हात्तीसमेत चढेकी थिईन् ।
हिलारीका तुलनामा अर्का प्रतिस्पर्धी उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकामा वस्ने आप्रवासी प्रति कठोर अभिव्यक्ति दिएका थिए । त्यही कारणले उनको बिजययात्रा त्यति सहज छैन भन्ने अनुमान पर्यवेक्षक र मिडियाको समेत थियो । तर नतिजा आउँदा ठीक उल्टो भयो । ट्रम्पले निकै अग्रताका साथ जिते ।
जब उनले जिते फेरी प्रश्न गर्न थालियो– अमेरिकामा बस्ने सबै नेपालीलाई ट्रम्प प्रशासनले फिर्ता पठाउँछ ? अमेरिका गएको नरुचाउनेले ट्रम्पको जितलाई स्वाद लिईलिई यो कुरा उठाईरहे । ट्रम्पका कारण अव अमेरिकाको भिसा लिन सजिलो हुँदैन, चिठ्ठावाट अमेरिका जान पाइने डिभी वन्द हुन्छ भन्ने देखि लिएर नेपालीले जागिर पाउंदैनन् भन्ने जस्ता विषयमा चिया पसलमा देखि दिएर कोठामा बसेर टिप्पणी लेखेर मिडियामा छपाउनेले समेत एक महिनासम्म काम पाए ।
तर, यो प्रश्न सर्वसाधारणको मात्र होइन नेपालका प्रधानमन्त्रीसम्मको रहेछ । केही दिन अघि काठमाडौ स्थित अमेरिकी राजदुत एलिना टेप्लिससँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत यस्तै जिज्ञासा राखेका थिए । त्यस बखत दाहालले अमेरिकामा बस्ने नेपालीलाई ट्रम्पको जीतले फरक पर्छ पर्दैन भनेर प्रश्न गरेको कुरा मिडियामा आयो । प्रधानमन्त्री दाहालको प्रश्नमा अमेरिकी राजदुतले केही असर नपर्ने जवाफ दिएको समाचारमा उल्लेख थियो ।
अमेरिकामा भने डोनाल्डको जितलाई नेपालीले सहज रुपमा लिन थालेका छन् । कानुनी रुपमा बस्दै आएकालाई उनको जितले खासै फरक नपर्ने देखिन्छ । कानुनी रुपमा भन्नाले ग्रीनकार्ड वा नागरिकता लिएर बसेकालाई कुनै असर नपर्ने देखिन्छ । कतिपय नेपालीहरुसँग काम गर्ने अनुमतिपत्र (वर्क परमिट) छ । वर्क परमिट काम गर्न दिइएको अधिकार हो । स्थायी बसोबास पत्र होइन ।
अबको दिनमा गैर कानुनी रुपमा लुकेर बसिरहेका र अपराध गर्नेलाई भने कठिन हुने देखिन्छ । अपराध गरेको रेकर्ड छ भने डिर्पोटेशन हुने जोखिम छ । तर, यो नयाँ भने होइन । वर्तमान राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि बार्षिक झण्डै चार लाखका दरले गैरकानुनी रुपमा अमेरिकामा वस्नेलाई डिर्पोटेशन गरिएको छ । यो संख्याले भने अव पनि निरन्तरता पाउन सक्छ ।
नेपाल बसाईको क्रममा केही तिता र केही मिठा अनुभवहरु बटुल्ने अवसर पनि मिल्यो ।
देशको राजधानी शहरको ट्राफिक व्यबस्थापन असाध्यै कमजोर देखियो । एक ठाउंवाट अर्को ठाउँमा कसैलाई भेट्न जाँदा धेरै समय त सडकमै बिताउनु पर्ने । छोटो र निश्चित समयका लागि धेरै साथीहरुकहाँ पुगेर भेट्छु भनेर योजना बनाउन संभव रहेनछ । अर्को धुवा र धुलोको समस्या । चितवनवाट काठमाडौ आउँदा देखिनै यो समस्या सताउँछ ।
अर्को महंगी पनि चर्को लाग्दो रहेछ । एक अमेरिकी डलर साट्दा एक सय ५ रुपैंया भन्दा वढी आउने भएपनि रेष्टुरेन्ट जाँदा वा समान किन्दा निकै महंगो लाग्ने रहेछ । अमेरिकामा कमाउनेलाई पनि महंगो लाग्यो ? भन्ने मित्रहरु पनि थिए । यत्रो खर्च गर्ने पैसा कहाँवाट आउंछ ? अर्थतन्त्रका वारेमा वुझ्नेले भने विदेशवाट आउने रेमिट्यान्सनै यसको मुख्य कारण हो । उतावाट पैसा आउँछ उताकै समान किन्यो सकिन्छ ।
अन्तिममा,
धेरै नेपालीहरु विदेश जाँदा कतार एअरबाट यात्रा गर्छन । तर केही कुराहरु जानकारी नहुँदा अप्ठेरो पर्ने रहेछ । दोहामा लामो ट्रान्जिट हुनेको बाहिर होटलमा बस्न नपाएको गुनासो नै गुनासो थियो ।
टिकट लिँदा बाहिर जान पाइन्छ, एअरलाइन्सले होटल दिन्छ भनेपनि सजिलै यो सुविधा नपाइने रहेछ । अहिले नियममा यसरी वाहिर निस्कन आवश्यक पर्ने ट्रान्जिट भिषा लिन केही दिन अघि नै निवेदन लिई लिनुपर्ने रहेछ । होइन भने एयरपोर्ट भित्रै वस्न तयार हुदां राम्रो हुन्छ ।
८ घण्टाभन्दा लामो समयको ट्रान्जिट हुनेले होटलमा बस्न चाहेमा सुरुमा टिकट लिँदानै निश्चित गर्दा सहज हुने रहेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...