बागलुङ, १६ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुने बताउनुभएको छ ।
एकचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस बागलुङ, क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“विधेयक संसद्मा टेबुल हुन्छ, कुनै पनि हालतमा पास हुन्छ, हामी पास गरेरै छोड्छौँ” – सभापति देउवाले भन्नुभयो । विपक्षी नेकपा (एमाले) लगायतका दलले संसद् अवरुद्ध गरेर प्रजातन्त्र विरोधी कार्य गरेको उहाँको भनाइ छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले विपक्षीलाई संसद्को अवरोध हटाउन आग्रह गर्दै यदि, अवरोध भइरहे पनि संसद्को प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभयो ।
“संसद्लाई बन्द गर्न मिल्दैन, यो प्रक्रियामा अघि बढ्छ” देउवाले भन्नुभयो – “विपक्षीले प्रक्रियाबाटै विधेयक फेल गराओस्, हामीलाई हराओस् ।” उहाँले विपक्षीले संसद् अवरुद्ध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।
यसअघि नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको सम्झौताकै वरिपरि रहेर वर्तमान सरकारले संशोधन प्रस्ताव ल्याएको उहाँको भनाइ छ ।
राष्ट्रिय एकता र मेलमिलाप कायम गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको सभापति देउवाले बताउनुभयो । “यो देश सबैको हो, मधेसलाई अविश्वास गरेर हाम्रो राष्ट्रियता बलियो हुँदैन”,
सभापति देउवाले भन्नुभयो – “सीमामा बसेर देशको रक्षा गर्ने तिनै मधेसीहरु हुन्, मधेस, पहाड, हिमालबीचको एकतालाई सुदृढ गर्नु आवश्यक छ ।” उहाँले सबै जातजाति, वर्ग, समुदायबीच राष्ट्रिय एकता कायम गरेर मुलुकलाई अघि बढाउन वर्तमान सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राष्ट्रिय अभिभारा मुलुकसामु रहेको सभापति देउवाले बताउनुभयो । उहाँले मुलुकका ठूला परिवर्तनमा नेपाली काँग्रेसले अगुवाइ गरेको भन्दै संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने दाबी गर्नुभयो ।
आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, गोविन्द भट्टराई, अर्जुनप्रसाद जोशी, सरिता प्रसाईं, नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापालगायतले सम्बोधन गर्नुभएको थियो ।
सभापति देउवाले आजै नेपाली काँग्रेस, बागलुङको नयाँ कार्यालयको उद्घाटनसमेत गर्नुभएको थियो ।
No comments:
Post a Comment