Saturday, January 14, 2017

‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ :उपप्रधानमन्त्री महरा

बागलुङ, १ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

सशस्त्रद्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस्थापन भएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा वित्तीय संस्थालाई ग्रामीणमुखी हुनपर्नेमा जोड दिनुभयो ।

नागरिकको घर–घरमा बैंकिङ सेवा पुग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो — ‘नागरिकको जीवनस्तर उकास्नतिर बैंक केन्द्रित हुनुपर्छ ।’

उपप्रधानमन्त्री महाराले ‘मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय संस्था महत्वपूर्ण आधार हुन्’ भन्दै विगतको द्वन्द्वले बन्द हुन पुगेका सबै वित्तीय संस्थालाई पुनःस्थापना गरिने स्पष्ट पार्नुभयो ।

संसद्को प्रक्रियामा छिरेको संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै उहाँले सङ्घीय संरचना कार्यान्वयनमा आउनसाथ मुलुकको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

बैंकको आफ्नै पुरानो भवन जीर्ण भएकोले तत्कालका लागि भाडाको घरबाट सेवा सञ्चालनमा ल्याइएको छ । बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा प्रवाह गरिरहेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिनुभयो ।

शाखाले थप सेवा विस्तार गर्दै जाने जनाइएको छ । हालका लागि शाखामा शाखा प्रबन्धकसहित तीनजना कर्मचारी छन् । विस्थापित बैंक पुनः खुलेपछि स्थानीवासी उत्साहित बनेका छन् । बैंक सञ्चालनसंगै विकास योजनाको रकम, कर्मचारीको तलब भत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेको छ ।

उक्त शाखाबाट गलकोट भेगका दर्जन भन्दाबढी गाविसले प्रत्यक्ष लाभ लिनेछन् । २०३३ सालमा स्थापना भएको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएका थिए ।

उपप्रधानमन्त्री महाराले आजै जिल्लाको हरिचौरमा माघेसङ्क्रान्ति मेलाकोसमेत उद्घाटन गर्नुभयो ।

उहाँलाई गलकोट भेगका दर्जनौं गाविसका प्रतिनिधिले विभिन्न विकास निर्माणसँग सम्बन्धित मागपत्र पनि बुझाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...