Monday, February 27, 2017

संविधान संशोधन प्रयासलाई हामी पूर्ण समर्थन गर्छौं : भारतीय राजदुत राय

 

 

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताएका छन्। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपछि द्धिपक्षीय सम्बन्ध झनै उचाईमा पुगेको विश्वास व्यक्त गरे। उनले भारतले नेपालमा सँधै स्थिरता, शान्ति र समृद्धि चाहेको समते स्पष्ट पारे। आफ्नो कार्यकाल सकेर राजदुत राय स्वदेश फर्किने तयारीमा छन्। यीनै विषयमा केन्द्रित रहेर नेपाली रेडियो नेटवर्कका नियमित कार्यक्रम नेपाली बहसको लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईको कार्यकालमा नेपाल–भारत सम्बन्ध कस्तो रह्यो?
नेपाल–भारत सम्बन्ध प्राचिनकालदेखि नै प्रगाढ छ। मेरो कार्यकालमा जसरी भारतमा माननीय नरेन्द्र मोदीजी सरकारमा आउनुभयो, त्यतिवेलादेखि नै हाम्रो कोशिश छ कि यो सम्बन्धलाई अझै कसरी प्रगाढ बनाउन सकिन्छ भनेर। र, हामीले अहिले कोशिश गरिरहेकै छौं। खासगरी विकासको पथमा दुवै देश कसरी एक–अर्कामा मिलेर अघि बढ्न सकिन्छ भनेर र आर्थिक साझेदारीलाई कसरी अघि बढाउन सकिन्छ भनेर हामीले पहल गरिरहेका छौं।
तर नेपालको राजनीतिमा भारतको हस्तक्षेपको कुरा पनि उठेको छ नि?
हेर्नुहोस्, भारतको नेपालमा एउटा मात्रै चाहना छ। त्यो भनेको यहाँ नेपालमा स्थिरता, शान्ति र विकास आओस् भन्ने नै हो। यस्तो भयो भने दुवै देशवीचको सम्बन्ध अझै समुधुर हुन्छ। प्रगाढ हुन्छ। यही अनुसार अघि बढ्छ। भारतको नेपालप्रतिको चासो भनेको नै कसरी दुवै देश आर्थिक साझेदारीमा हातमा हात मिलाएर अघि बढ्न सकिन्छ भन्ने नै हो। आगामी दिनमा द्धिपक्षीय सम्बन्ध कसरी प्रगाढ बनाउन सकिन्छ भन्ने नै हो।
उसो भए नेपालको राजनीतिमा भारतको हस्तक्षेप छैन?
नेपालको राजनीतिमा के गर्ने नगर्ने भन्ने कुरा यहीँका मान्छेले निर्णय गर्ने हो। नेपालका राजनीतिज्ञहरुले नै निर्णय गर्ने कुरा हो। हामी त चाहन्छौं कि नेपालमा स्थिरतमा आओस्। यही विश्वास र आधारमा सम्बन्ध विकास हुन्छ।
तपाई त नेपालको गाउँ–गाउँमा पुग्नुभएको छ, भारतप्रति नेपाली जनताको भावना कस्तो पाउनुभयो ?
हो, म प्रायः सबै जिल्लामा पुगेको छु। भारतप्रति उहाँहरुको आत्मियता पाएको छु। कहिले कहिले केही राजनीतिक दलहरुले भारतप्रति केही कुरा टिप्प्णी गरेपनि नेपाली जनताको भारतप्रति धेरै राम्रो सद्भाव छ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त संविधान संशोधनमा भारतको दख्खल छ भन्नुभएको छ नि ?
मनोविज्ञान बुझ्न जरुरी छ। भारतसँग नेपालको तीन तिरको खुल्ला सिमाना छ। मलाई लाग्छ द्धिपक्षीय सम्बन्ध धेरै प्रगाढ छ। हामीले नेपाली जनताहरुको चाहनालाई नै समर्थन गरेको ईतिहास छ। यदि तपाई ऐतिहासिक रुपमा हेर्नुहुन्छ भने। हामीले नेपालमा सँधै लोकतन्त्रलाई नै समर्थन गरेका छौं।
नेपालको संविधान जारी गर्दा र अहिले संविधान संशोधनमा भारतको किन असहमति किन थियो त ?
यहाँको संविधानलाई लिएर जो सवाल उठेको छ, हामीले सँधै एउटै कुरा भनेका छौं। त्यो भनेको के हो भने कि यो संविधानलाई सबैले मेरो संविधान भनोस् । सबैलाई समेटियो भने मात्रै देशमा स्थिरताको माहोल बन्छ। त्यसैले सबैलाई साथमा लिएर चल्नुपर्छ। यसको लागि के गर्नुपर्छ वा मसला के हो भन्ने कुरा नेपालका नेता तथा जनताहरुले नै निर्णय गर्ने कुरा हो।
भारतीय प्रधानमन्त्री मोदीजीले त नेपालको संसदमा सम्बोधन गर्दा संविधान सबैको अपनत्व हुने खालको हुनुपर्छ भन्नुभएको थियो नि ?
विल्कुल।
उसो भए अहिलेको संविधानमा सबैको अपनत्व छैन त ?
कोशिश भैरहेको छ।
भनेपछि नेपालको संविधानलाई लिएर भारत बेखुशी छैन ?
संविधान त नेपालको लागि र नेपाली जनताका लागि हो नि। यसमा भारत खुशी वा बेखुशीको कुरै आउँदैन नि। भारतको चाहना भनेको संविधानमा सबैको अपनत्व हुनुपर्यो, यसको लागि अहिले प्रयत्न चलिरहेको छ।
नेपालको संविधानलाई भारतको पूर्ण समर्थन छ?
हामीले भनिरहेका छौं कि जो प्रयास अहिले भैरहेको छ, त्यसलाई हामी पूर्ण समर्थन गर्छौं। र हामी विश्वास गर्छौं कि अब सबै समूदायको अपनत्व हुन्छ।
नेपालमा चुनावबारे भारतको धारणा के हो ? चुनाव हुनुपर्छ भन्ने हो कि वा अरु के हो ?
विल्कुल, चुनाव त हुनै पर्यो नि। संविधानको लागि पनि चुनाव हुनुपर्यो। तब त यहाँको लोकतन्त्र मजबुद हुन्छ। चुनाव प्रक्रियामा भारतको पूर्ण समर्थन छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...