काठमाडौँ, २३ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब मुलुकमा सामाजिक क्रान्ति पूरा गर्न राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल अध्ययन केन्द्रले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री खनालले सामाजिक क्रान्ति तथा रुपान्तरणको आधार भनेको लोकतन्त्र, आर्थिक प्रगति, सांस्कृतिक संरक्षण र सन्तुलित विकास नीति हुनुपर्ने बताउनुभयो ।
उहाँले सामन्तवाद देशबाट उन्मूलन भएको भएपनि केही अवशेष बाँकी रहेको बताउँदै देशको राष्ट्रिय पुँजीलाई बलियो बनाउन सरकारी, निजी र सहकारी क्षेत्रको समन्वयको खाँचो रहेको र त्यसका लागि संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले ‘नेपालमा पुँजीवादको चरित्रः कम्युनिष्ट पार्टीमाथि आलोचनात्मक टिप्पणी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा छरिएको पुँजीलाई एकीकृत गरी उद्योग तथा पूर्वाधार विकास निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यपत्रमाथि अर्थशास्त्री डा विजय पौडेल, नेकपा (संयुक्त) का महासचिव सुनिल मानन्धर, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र हरि रोकाले समीक्षा गर्दै सीमित व्यक्तिका पहुँचमा उत्पादनका स्रोत, साधन तथा पुँजी सञ्चय भएकाले देशमा उद्योग फस्टाउन नसकेको विचार व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment