Wednesday, March 1, 2017

मधेसी मोर्चालाई एमालेको चुनौति- हिम्मत भए मधेशमा २० प्रतिशत मत ल्याएर देखाउ

 

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो जनताको नाममा गरेको सम्बोधनलाई आफ्नो पार्टीले स्वागत गरेको बताएका छन् ।

‘मधेसी मोर्चासँग सार्मथ्य छ भने तराईमा २० प्रतिशत मत ल्याएर देखाओस्’ एमाले सचिव ज्ञवालीले भने– ‘हामी मोर्चाको मागमा विचार गर्न सक्छौं ।’ 

बुधबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले चुनावप्रति अठोट देखाएको भन्दै उक्त अठोट व्यवहारमा लागु होस् भन्ने आफूहरुको शुभकामना र चाहना रहेको बताए । ज्ञवालीले भने, ‘बैशाख ३१ आउन अब जम्मा ७३ दिन बाँकी छ, चुनाव गर्ने समय छोटो छ, निर्वाचन सम्पन्न गर्नको लागि सहयोग पुर्याउन सबै खाले सहयोग गर्न हाम्रो पार्टी तयार छ ।’

‘हिम्मत भए मधेशमा २० प्रतिशत मत ल्याएर देखाउ’

उनले निर्वाचनको अवरोध गर्नुभन्दापनि सबै दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘सबै दललाई चुनावमा ल्याउनको लागि सरकारले पहल गर्नुपर्छ ।’ उनले मधेशी मोर्चाले पनि तराईमा आफ्नो वर्चस्व छ भनेर दाबी गरिरहेकोले चुनावमा भाग लिएर त्यो सिद्ध गरेर देखाउन चूनौति दिए । उनले थपे, ‘मोर्चाले पनि चुनावमा भाग लिएर मतमार्फत आफू बलियो छु है भनेर देखाए त भैहाल्यो नि ?’

उनले स्थानीय तहलाई दिईएको अधिकार उपर्युक्त भएको उल्लेख गर्दै भने, ‘अहिले संख्या बढाउने कुरा भैरहेको छ, संवैधानिक आयोगले निर्धारण गरेको संख्यालाई कार्यकारीले बढाउने कुरा भैरहेको छ, यसको बारेमा गहन छलफल होस् ।’

उनले मधेशी मोर्चा नआउँदापनि स्थानीय तहको निर्वाचन हुने दाबी गरे । उनले थपे, ‘सकेसम्म ल्याउने कोशिश भैरहेको छ, यो सरकारको काम हो, तर उहाँहरु नआएपनि चुनाव हुन्छ, हिजो मोहन बैद्यजीहरुले पनि दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेकै हो नि, तर ७६ प्रतिशतले चुनावमा भाग लिएका हुन् ।’

धम्कीको राजनीति नगर्न चेतावनी

उनले चुनाव हुनै दिन्न भनेर मोर्चाले धम्कीको राजनीति गर्न नमिल्ने स्पष्ट पारे । उनले थपे, ‘सार्मथ्य छ भने मधेशमा २० प्रतिशत मत ल्याएर देखाउनुहोस्, हामी उहाँहरुको कुरामा विचार गर्न सक्छौं ।’ उनले संविधान संशोधनमा आफ्नो पार्टीको धारणा यथावत रहेको जिकिर गरे ।

उनले मधेशी मोर्चाका नेतृत्वले चुनावमा भाग नलिएपनि स्थानीय कार्यकर्ताहरुले चुनावमा भाग लिने विश्वास व्यक्त गरे । उनले अहिलेको अर्जुनदृष्टि नै चुनाव भएको जिकिर गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...