Tuesday, March 14, 2017

एमालेकै जनजाति नेता भन्छन्ः अशोक राई भारतको नांगो दास भए, एमाले छाडेको कारण बल्ल खुल्दैछ

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर चारका प्रमुख किरण गुरुङसँग कञ्चनपुर घटना, त्यसपछि सिर्जित परिस्थिति र मेची महाकाली अभियानका विषयमा दैनिक नेपालले गरेको संक्षिप्त कुराकानीः

कन्चनपुर घटनालाई कसरी लिनुभएको छ ?

यो घटना भनेको भारतीय शासकहरुको ज्यादतीको एउटा नमुना हो । हेपाहा दृष्टिकोण र त्यसैको निरन्तरता हो ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

सरकारले जसरी गम्भीरतापूर्वक लिनुपर्दथ्यो, राष्ट्र र राष्ट्रियताको निम्ति जुन जागरुकता देखाउनुपर्दथ्यो, हेपाहा नीतिविरुद्ध विरोधमा उभिनु पर्दथ्यो, उभिन सकेको छैन् । खुट्टा कमाइरहेको अबस्था छ । यो राष्ट्रिय स्वाभिमानी सरकार हैन्, त्यसैले विरोधमा जान सकेको छैन् । नेपालको पक्षमा, स्वाभिमानको पक्षमा बोल्न सकेको छैन् ।

तर, आम नेपाली जनताहरु ज्यादतीको विपक्षमा हेपाहा नीतिको विपक्षमा छन् । नेपाली जनता स्वाभिमानको पक्षमा उभिन चाहन्छन् । हेपाहा प्रवृत्तिलाई नेपाली जनता स्वीकार्दैनन्, भारतीय शासकहरुले यो स्पष्ट रुपमा बुझ्नुपर्छ । यो घटनाले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने काम गरिरहेको छ । यो घटनाले जनता– जनताको बीचमा भएको सम्बन्धलाई पनि खलल पुर्याउने काम गरेको छ । नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो भन्ने कुरालाई भारतीय शासकहरुले कहिल्यै बिर्सन हुँदैन्, यो नेपालमाथिको हस्तक्षेप नै हो ।

तर, संसदमा केही पार्टीहरुले त यसमा भारतको गल्ती छैन् भने नि !

खासगरि, संघीय समाजवादीका नेता अशोक राईले भारतले प्रकाशित गरेको विज्ञप्ति पढेर सुनाउनुभएको थाहा पाएँ । यो दास मनोवृत्ति बाहेक केही होइन्, भारतीय शासक सामु घुँडा टेक्ने काम हो । आफ्नो आँखा अगाडिको सत्य देख्न नसक्नु, नेपाली भएर नेपालीकै पक्षमा बोल्न नसक्नु भनेको नांगो दासता बाहेक केही होइन् ।

त्यसो भए तपाईंकै पूर्वमित्र अशोक राईलाई के भन्नुहुन्छ ?

जहाँसम्म अशोक राईको कुरा छ, उहाँ वैचारिक रुपमै पतन हुनुभयो । विचारले नै मानिसलाई अगाडि बढाउने हो । उहाँले जुन सोच र दृष्टिकोण बोक्नुभएको छ, विखण्डनकारी र भारतीय शासकलाई खुसी पार्ने दासत्वपूर्ण विचार बाहेक केही देख्दिन् । उहाँ भारतीय दास बन्नुभयो । संघीय समाजवादीले घोर दक्षिणपन्थी, नेपाल राष्ट्रका लागि आत्मघाती विचार लिएर हिँडेको छ । यो पलायनको एउटा नमुना हो ।

हिजो एमाले पार्टी फुटाउनु र अहिले उहाँ (अशोक राई) को अभिव्यक्तिमा तालमेल देखिन थालेको छ । उहाँ हिजो पार्टीको ठूलै पदमा हुनुहुन्थ्यो, उहाँले किन पार्टी फुटाउनुभयो र किन कम्युनिष्ट विचार छाड्नुभयो भन्ने पहिला नदेखाइए पनि अहिले त्यसको संकेत देखिन थालेको छ । उहाँ सोच्दै नसोचेको ढंगले आउनुभयो, त्यसैको आडमा पार्टी फुटाएको हुन सक्छ ।

थोरै प्रसंग बदलौं, सप्तरी घटनापछि रोकिएको एमालेको मेची महाकाली अभियान फेरि सुरु भएको छ, उल्लास उस्तै छ कि घटेको छ ?

फागुन २१ गते झापाबाट सुरु भएको अभियान अत्यन्तै उल्लासपूर्वक अगाडि बढेको थियो । तर, सप्तरीमा अत्यन्तै निन्दनीय आक्रमण भयो । एमालेलाई कुनै हालतमा कार्यक्रम गर्न नदिने र गरेमा एमालेका नेताहरुलाई कत्लेआम गर्ने षडयन्त्र बनाएको पाइयो । सबैको हत्या गर्ने नियोजित ढंगले बाहिरबाट अपराधीहरुलाई भित्राएर सप्तरीमा अभियान बिथोल्ने प्रयत्न भयो । तर, सुरक्षाकर्मीका कारण ती जत्था असफल भए । भारतबाट सार्पसुटर ल्याइएको समेत जानकारीमा आएको छ । सप्तरीमा त्यो घटना नभएको भए अर्को गौर वा कैलाली हत्याकाण्ड जस्तै ठूलो हत्याकाण्ड रच्ने योजना रहेछ, त्यो असफल भयो । यो घटनाको जति निन्दा गरे पनि पुग्दैन ।

सप्तरी घटनाले एमाले पंक्ति आतंकित भएको छैन् । कुनै हत्या हिंसा र षडयन्त्रले एमालेको अभियान रोकिन्न ।
हेटौँडादेखि सुरु भएको अभियान प्रदेश नम्बर चारसम्म आइपुग्दा निकै उत्साहमुलक देखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts