Saturday, March 18, 2017

राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा

इलाम, ५ चैत । उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ ।
प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि तिनको सङ्ख्या र प्रजातिको यकिन हुन सकेको छैन ।
“गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ,” उच्च पहाडी जडीबुटी संस्थाका दीपक लुङ्गेलीले भन्नुभयो, “वन मन्त्रालय र विभागबाट ठोस नीति तर्जुमा गरी जिल्ला वन कार्यालयमार्फत स्थानीय तहका हरेक सरोकारवालाई संरक्षणका लागि प्रेरित गर्नुपर्छ ।”

माइमझुवा, मावु, जमुना, माइपोरी, पुवामझुवा, प्याङ, जोगमाईलगायत गाविसमा अत्यधिक गुराँस पाइन्छ । ती क्षेत्रमा रहेका पशुगोठमा दाउरासँगै गोठलगायत संरचना निर्माणका लागि गुराँस फँडानी हुने गरेको छ । खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले बताउनुभयो । “ढिलो बढ्ने र फँडानी तीव्र हुँदा बर्सेनि क्षेत्रफल घट्दो छ”, उहाँले भन्नुभयो । काँचोमा नै मज्जाले बल्ने र यसको काठ पनि मजबुत हुने भएकाले प्रयोग बढ्दो छ ।

इलामको पूर्वी पशुपतिनगरदेखि मानेभन्ज्याङ हुँदै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँका दुई दर्जन होटलले दाउरा र निर्माणका लागि गुराँसको प्रयोग धेरै गर्ने गरेका छन् । “सीमापारि सिंहलिला नेसनल पार्कले प्रवेश नदिने भएपछि नेपालतर्फका गुराँसलगायत वनमा प्रभाव पर्ने गरेको हो”, माइमझुवाका डिबी गुरुङले भन्नुभयो, “त्यस क्षेत्रका बासिन्दालाई चेतना विस्तारसँगै दैनिक दाउराको गुुजारा गर्न वैकल्पिक उपाय खोजी गर्नुपर्छ ।”

जिल्ला वन कार्यालयले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम गर्न सकेको छैन । चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले संरक्षण थालेको हो । “गुराँस धेरै पाइने स्थानको पहिचान गरी ठोस कार्यक्रम ल्याइने सोच भए पनि आवश्यकताअनुसार काम हुन नसकेको हो,” वन कार्यालयका सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो ।
उहाँका अनुसार वन तथा भूसंरक्षण मन्त्रालयमार्फत गुराँस संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालिएको विश्वमा गुराँसको एक हजार प्रजाति रहे पनि लालीगुराँस भने ३२ प्रजातिका रहेको तथ्याङ्क छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...