Sunday, March 26, 2017

स्थानीय तहको निर्वाचनपछि देशले फड्को मार्छ: उपप्रधानमन्त्री थापा

हेटौँडा, १३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथ स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले आज हेटौँडामा आयोजित जिल्ला प्रशासन कार्यालय मकवानपुुरका प्रजिअ, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुख, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई सम्बोधित गर्दै उक्त कुरा बताउनुभएको हो ।

मन्त्री थापाले अब हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा, निस्पक्ष र सक्रिय भूमिकाका लागि राष्ट्रसेवक कर्मचारीलाई महत्वपूर्ण योगदान गर्न अनुरोध गर्नुहुँदै सरकारले राष्ट्रसेवक कर्मचारीलाई वृत्ती विकासमा मद्दत पुग्ने, कामका आधारमा मूल्याङ्कन गर्ने, कर्मचारीमैत्री प्रावधान लागू गर्दै जाने सरकारको योजना रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीले स्थानीय निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र शान्तिसुरक्षा प्रदान गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले मकवानपुर जिल्लामा आठ गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिका रहेको र सो निकायमा आवश्यक जनशक्ति अपुग रहेको बताउनुभयो ।

यसैगरी आजै उपप्रधानमन्त्री कमल थापाको सम्मानमा मकवानपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनका लागि र स्थानीय, प्रदेश र संसद्को निर्वाचनका लागि सरकार जुटेको बताउनुभयो ।

मधेसवादी दललाई अबको निर्वाचनमा सहभागी गराउन आवश्यक सहमति गर्न गम्भीर छलफल भइरहेको र प्रधानमन्त्री चीनबाट फर्केलगत्तै मधेसवादीसँग सहमति हुने विश्वास गर्नुभयो ।

उहाँले स्थानीय चुनावपछि विकास निर्माण र आर्थिक विकासका लागि उद्योग व्यवसायमा महत्वपूर्ण काम कार्यान्वयन हुँदै जानेछ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...