Friday, March 31, 2017

यस्तो छ नेजस अमेरिकाको साधारण सभाको तयारी

भर्जिनिया,अमेरिका,मार्च ३० | आगामी अप्रिल२२ तारिख शनिवार यहाँ हुन लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ | साधारण सभालाई भव्यतापूर्वक सम्पन्न गर्न केन्द्रीय समितिका उप सभापति केशब बरालको संयोजकत्वमा एक मूल समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ | यसैगरी साधारण सभास्थल भर्जिनियाका च्याप्टर सभापति रामशरण हुमागाईंको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति समेत गठन गरिएको छ | साधारण सभामा सहभागी हुनका लागि अहिले अमेरिकाका विभिन्न राज्य तथा शहरमा छरिएर रहेका समितिका सदस्यहरुले अहिले धमाधम होटल बुकिङ्ग गरिरहेको जानकारी साधारण सभा मूल आयोजक समितिका संयोजक केशब बरालले दिनु भएको छ | अप्रिल २ तारिखसम्म सहभागीहरुले होटल बुक गरेमा सहुलियत दरमा होटलको कोठा पाइनेछ |

यसैगरी साधारण सभाका लागि आर्थिक व्यवस्थापन गर्न केन्द्रीय सदस्य गोपाल विश्वकर्माको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ | समितिले साधारण सभाका लागि आर्थिक संकलन गर्ने कार्य अघि बढाएको जानकारी संयोजक विश्वकर्माले दिनु भएको छ | यसैगरी सांस्कृतिक विभागका प्रमूख रहेका केन्द्रीय सदस्य सुवास लामाले साधारण सभामा सहभागी हुनेहरुका लागि मनोरन्जन प्रदान गर्ने उद्देश्यले ख्यातिप्राप्त नेपाली कलाकारहरुले विभिन्न प्रस्तुति दिने र अहिले त्यसको रिहर्सल भैरहेको जानकारी दिनु भएको छ | स्थानीय रुपमा पनि कलाकार अनुपमा प्रसाईको संयोजकत्वमा भर्जिनिया क्षेत्रमा रहेका कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रमको प्रस्तुतीको तयारी भै रहेको छ |

विधान अधिवेशन समेत भनि चर्चा गरिएको आसन्न साधारण सभामा विधान संशोधन समेत गरिनेछ | विधान संशोधन प्रस्ताव तयार गर्नका लागि कानुन विभागका प्रमूख समेत रहनु भएका केन्द्रीय सदस्य पिताम्बर भुषालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी काम अघि बढाइएको छ | समितिले सबै च्याप्टर सभापति,केन्द्रीय समितिका सल्लाहकार र केन्द्रीय समितिका सबैलाई विधान संशोधनमा पेश गर्नुपर्ने सुझावका बुँदाहरु लिखित रुपमा पेश गर्न पत्राचार गरिसकेको संयोजक भुषालले जानकारी दिनुभएको छ |

यसैबीच साधारण सभामा को को सहभागी हुने भन्ने बारेको अन्यौलको केन्द्रीय समितिले टुंगो लगाएको छ | गत मार्च १८ तारिख समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न केन्द्रीय समितिको बैठकले आसन्न साधारण सभामा समितिका सबै सदस्य र शुभेच्छुकहरु सहभागी हुन खुला गर्ने निर्णय गरेको छ | समितिको विद्यमान विधानमा केन्द्रीय समिति,च्याप्टर सभापति,महासचिव र कोषाध्यक्षले साधारण सभामा वैधानिक प्रतिनिधित्व गर्ने उल्लेख छ | समितिको बैठकले प्रतिनिधित्वको बैधानिक व्यवस्थाका साथै विगतमा समितिको एकताको दोश्रो अधिवेशन (टेक्सास अधिवेशन) का लागि चुनिएका केन्द्रीय प्रतिनिधिहरु, कांग्रेस महाधिवेशनमा अमेरिकाबाट प्रतिनिधित्व गरेका महाधिवेशन प्रतिनिधिहरु, अमेरिकामा रहेका नेपाली काँग्रेसका अग्रज तथा जनसंपर्क समितिका केन्द्रीय सल्लाहकार एवं च्याप्टर समितिका सबै पदाधिकारी र सदस्य एवं, कृयाशिल र साधारण सदस्यहरू सहभागी हुन पाउने गरी निर्णय गरेको छ | समितिका महासचिव मुनिन्द्र नेम्बाङका अनुसार, केन्द्रीय समितिले गरेका निर्णय बारे सबै च्याप्टरहरुसंग कन्फरेन्स बैठक गरी जानकारी गराई सकिएको छ |

‘ यो संगठन बनाउने र संगठनमा विगतमा भएका कार्यहरुको समीक्षा गर्दै भविश्यमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरी निर्णय गर्ने एकमात्र वैधानिक थलो भएकोले सबैलाई सहभागी गराउने गरी केन्द्रीय समितिमा छलफल पश्चात यस्तो निर्णय गरिएको हो | हामी आग्रह गर्छौं यो साधारण सभामा अमेरिकामा रहनु भएका समितिका सबै सदस्य र शुभेच्छुकहरु सहभागी भएर समितिलाई कस्तो बनाउने भन्ने बारेमा सामुहिक छलफल गरी निर्णय गरौँ’ महासचिव नेम्बाङले भन्नुभयो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...