मार्च ४ शनिवार संयुक्त राज्य अमेरिका वाशिङ्गटन राज्यमा नेपाल सम्वन्धी महोत्सव ‘कल्चर शेयर नेपाल’ अत्यन्त भव्यताकासाथ सम्पन्न भएको छ । सांस्कृतिक विविधतालाई प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वाशिङ्गटन राज्यको शोरलाइन नगरपालिका र युथ फर कल्चर प्रमोशनको संयुक्त आयोजनामा यस महोत्सव आयोजना गरिएको थियो । सम्पूर्ण रुपमा नेपालको संस्कृतिलाई मात्र समेटेर आयोजना गरिएको यस महोत्सव अमेरिकाको नगर स्तरबाट आयोजित पहिलो कार्यक्रम हो ।
वाशिङ्गटनको शोरलाइन टाउन हलमा आयोजित उक्त महोत्सवमा मुर्चुङ्गा, सहनाइ, ट्याम्को, धिमय्, धाः, नाय्खिं, पश्चिमा, दाफाखिं लगायत नेपालका विभिन्न पच्चीस थरी लोकबाजाहरुको प्रदर्शनी उल्लेखनीय रहेको थियो । यस बाहेक नेपालका विभिन्न हस्तकला, कलाकृति र दैनिक अपयोगका सामग्री, नेपाल सम्वन्धी पुस्तकको प्रदर्शनी पनि अतिथिहरुले उत्सुकतापूर्वक अवलोकन गरेका थिए । महोत्सवको पहिलो चरणको कार्यक्रममा अतिथिहरुले दाल, भात, तरकारी, अचार, व्छय्ला, च्यूरा, चतांमारि आदि विभिन्न नेपाली परिकारहरुको रस्वादन गरेका थिए । दोश्रो चरणको कार्यक्रममा शोरलाइन नगरपालिकाका विविधता विभागका प्रमुख सोनी टल्टनले स्वागत गरेकी थिइन भने महोत्सवका संयोजक र युथ फर कल्चर प्रमोशनका संस्थापक सुभाषराम प्रजापतिले नेपालको इतिहास, भौगोलिक र सांस्कृतिक पक्षबारे जानकारी प्रस्तुत गरेका थिए । यसपछि सम्पन्न सांस्कृतिक प्रस्तुतिमा कलाकारहरु सुभाषराम प्रजापति, एन्जेलिन ग्यूएन, केनीथ म्यान्डेल, रविन प्रजापति, चेतना शाक्य र प्रेमकुमार प्रजापतिले धिमय् र पञ्चैबाजा लगायत नेपालका विभिन्न भेग र जनजातिका सांगीतिक धून र वाद्यवादन प्रस्तुत गरेका थिए । त्यसैगरी नृत्यांगना सोममाया सुब्बाले नेपाली लोक नृत्य प्रस्तुत गरेकी थिइन् । यसका साथै नेपाली बाजा र लोक नृत्यको कार्यशालामा दर्शकहरु अत्यन्तै उत्सुकतापूर्वक सहभागी भएका थिए । महोत्सवमा अतिथिहरुलाई नेपाली बाजा अन्तर्गत सामुहिक मादल वादन प्रशिक्षणका साथै भक्तपुरको घिन्ताङ घिसि प्याखं (नाच) र नेपाली सामूहिक नृत्यको प्रशिक्षणमा सबै वर्ग र उमेरका अतिथिहरु हर्षोल्लासका साथ सहभागी भएका थिए ।
No comments:
Post a Comment