Wednesday, March 15, 2017

हवाइ कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालले दियो आधारपत्र

काठमाडौं ,२ चैत । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरुको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ ।

नेपाली एयरलाइन्सहरुले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा बिगत केही बर्षदेखि उडान प्रतिबन्ध लगाइँदै आएको छ ।

प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको आधारपत्र नेपालका लागि युरोपियन युनियनकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले गत फागुनको पहिलो हप्ता गर्नुभएको ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च्ा प्रतिनिधि फेडेरिका मोगरिनीसँग प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

युरोपेली आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो ।

आयोगका अध्यक्ष युंकरले मन्त्री डा.महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएका थिए ।

सो पत्रमा हवाई सुरक्षा -एयर सेˆटी) सम्बन्धमा नेपालले हालैका वर्षहरुमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्त्ार्राष्ट्रिय नागरिक उड्डयन संगठन -आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ ।

आइकावको प्राविधिक समूहले गत नोभेम्बर महिनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ ।

पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले चाँडै सो पत्र युरोपेली आयोगमा पठाउने र छिट्टै नेपाल कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरिन ।

युरोपियन युनियनले युरोपेली देशहरुको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...