Sunday, April 23, 2017

वाग्मती सफाइ अभियानलाई दलसँग नजोड्न आग्रह

काठमाडौँ, १० वैशाख । वाग्मती सफाइ अभियान कुनै राजनीतिक दल विशेषको नभएको सफाइ महाअभियानले जनाएको छ ।

महाअभियानले आज जारी गरेको विज्ञप्तिमा अभियानको नेतृत्व मुख्यसचिवले गर्ने भएकाले सामाजिक सञ्जालमा स्थानीय तह निर्वाचनको सन्दर्भ जोडेर महाअभियानको नाम राखिएकामा आपत्ति जनाएको छ ।

अभियन्ता उमेश बोहोराले जारी गर्नुभएको विज्ञप्तिमा अभियानको कार्यसमिति र कोष नभएको उल्लेख छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि सफाइ अभियान सञ्चालन भएको हो । सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा सो अभियान सुरु भएको हो ।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दर्जनौँ सङ्घसंस्थाको नियमित सहभागिता हुँदै आएको छ । अभियानले २०६ हप्ता पार गरेको छ । यसबाट प्रभावित भई देशभर २६ स्थानमा सफाइ अभियान सुरु भएको छ । आठ हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन भएको उक्त अभियानमा सात लाख बढी स्वयम्सेवकले सहभागिता जनाइसकेका छन् ।

“एउटै मात्र राजनीतिक दलसँग सम्बन्ध नराख्ने मर्म र भावना विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाललगायतमा वाग्मती सफाइ महाअभियानकै संलग्नता देखिने गरी केही भ्रम सिर्जना हुनसक्ने कार्यप्रति अभियानको गम्भीर ध्यानाकर्षण भएको छ, कुनै पनि अभियन्ताको राजनीतिक आस्था र पार्टी आबद्धता व्यक्तिगत स्वतन्त्रता हो, अभियान सबै दलको साझा बन्न सक्छ तर कुनै एक पार्टीको मात्र बन्न सक्दैन”–विज्ञप्तिमा भनिएको छ ।

अभियान हालसम्म र भविष्यमा समेत कुनै पनि राजनीतिक पार्टीसँग नजोडिने स्पष्टोक्तिका साथ कोही कसैले पनि व्यक्तिगत लाभ र राजनीतिक उद्देश्यका लागि वाग्मती सफाइ अभियानलाई नजोड्न हुन सम्पूर्ण सरोकारवालालाई महाअभियानले अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...