लण्डन, १२ बैशाख ।
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ ।
महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर स्कटल्याण्डको फिपका सांसद स्टेफिन गेथिन्स (Stephen Gethins) ले बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रस्तुत गरेका हुन् । जसलाई ‘द लिटिल शेर्पा फाउन्डेशन’का सिइओ तथा चर्चित फोटोग्राफर जेम्स ल्याम्ब -James Lamb), , नेपाल पर्यटन बोर्डका मानार्थ दूत पशुपति भण्डारी (Pashupati Bhandari) र युके–नेपाल फेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल (Alan Mercel-Sanca) ले समन्वय गरेका थिए । सोमबार साँझ भएको वृत्तचित्र प्रदर्शनीमा बेलायतस्थित बिभिन्न निकायका अधिकारीहरु, नेपाली दूतावास तथा नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
वृत्तचित्र प्रदर्शनपछि प्रेस विज्ञप्ति जारी गर्दै सांसद गेथिन्सले भनेका छन् – ‘हामी नेपालका भूकम्पपीडितलाई सम्भव हुने सबैखाले सहयोग गर्न तयार छौं । भूकम्पपीडितका लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध पनि गर्दछु ।’ सांसद गेथिन्सले महाभूकम्पको बेलामा समेत ज्यानको बाजी थापेर उत्कृष्ट डकुमेन्ट्री निर्माण गरेको भन्दै ‘भाग्यले बाँचेकाहरु’ हेर्न सबैलाई अनुरोध पनि गरेका छन् ।
निर्मात्री शारदा गैरेसँगै बेलायती संसदमा पुगेका ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे (Ganesh Panday) ले भूकम्पपछि नेपालीको पीडामा मल्हम लगाउन सहयोग गरेकोमा बेलायत सरकार र बेलायती जनतालाई धन्यवाद दिए । ‘आज बेलायतको संसदमा उभिएर नेपालीको कथा–व्यथा प्रदर्शन गर्न पाउँदा खुसी लागेको छ ।’, कार्यक्रममा वृत्तचित्रका निर्देशक पाण्डेले भने, ‘अझ बेलायतको संसद भवनमा नेपाली फिल्म प्रदर्शन भएको यो पहिलो रहेछ । यो ऐतिहासिक अवसर पाएकोमा हामी गौरवान्वित भएका छौं । वृत्तचित्र निर्माण टिम, भूकम्पमा बाँच्ने र बचाउने सम्पूर्ण नेपालीका तर्फबाट धन्यवाद ।’
यसैगरी, बेलायतस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले ‘भाग्यले बाँचेकाहरु’ फिल्मले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको प्रबर्धन गरेकोमा प्रशंसा गरे । उनले केही प्रक्रिया पूरा गर्दा समय लागे पनि भूकम्पपीडितका लागि सरकारले आवश्यक सहयोग गरिरहेको बताए । भूकम्पपीडितको लागि राहत उपलब्ध गराएकोमा सबैलाई धन्यवाद दिँदै उनले हातेमालोका लागि अनुरोध पनि गरे ।
चर्चित फोटोग्राफर एवम् द लिटिल शेर्पा फाउन्डेशनका सिइओ जेम्स ल्याम्बले आफूले नेपालमा भूकम्पको बेला महसुस गरेको अनुभव सुनाउँदै ‘भाग्यले बाँचेकाहरु’मा नेपाल र नेपालीको कथा व्यथालाई सजीव रुपमा उतार्न सफल भएकोमा धन्यवाद दिए । उनले नेपालको अबस्थाप्रति बेलायती सांसद र नीति निर्माताको ध्यान जाओस भन्ने उद्देश्यले संसदमा भाग्यले बाँचेकाहरुको प्रदर्शनी गरिएको बताए ।
यसैगरी, नेपाल पर्यटन बोर्डका बेलायतस्थित मानार्थ दूत पशुपति भण्डारीले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य भएको भन्दै ढुक्कसँग नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरे । धेरै पुरातात्विक तथा पर्यटकीयस्थलहरु निर्माण भइसकेको र कतिपय निर्माण हुने क्रममा रहेको भण्डारीले जानकारी समेत दिए ।
युके नेपाल फेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्काले नेपाल र बेलायतबीच पर्यटन, व्यापार प्रबर्धन गर्दै दुई देशका नागरिकबीचको सम्बन्धलाई जोड्न आफूहरु लागिपरेकाले बताए ।
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १५ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । बेलायत यात्राका क्रममा नेपाली समुदायले बिभिन्न ठाउँमा भाग्यले बाँचेकाहरु प्रदर्शन गर्ने तयारी गरेका छन् ।
साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।
सहयोगका लागि आभारी छु ।
No comments:
Post a Comment