बिहीबार दिउँसैदेखि म ललितपुरको कुमारीपाटीमा ट्राफिक व्यवस्थापन गर्न खटिएको थिएँ। घाम, धुलो सहँदै ड्युटी गर्ने क्रममा कुमारीपाटीको कोरियन पसलअगाडि तीन मिनेटजति सवारी आवागमन ठप्प भयो। त्यही बेला मैले एउटा कार अगाडि ‘नो–पार्किङ’ मा पार्किङ गरिरहेको देखेँ। त्यसले पनि त्यहाँ ट्राफिक जाम भइरहेको थियो। केही समयसम्म त्यो गाडी हटाउन कोही नआएपछि पछाडि रोकिएका मोटरसाइकल चालक, माइक्रोचालकहरू हर्न बजाइरहेका थिए। कारमा कोही थिएनन्। मैले सिठ्ठी बजाउँदै कार चालक खोजे। नजिकैको एउटा फेन्सी पसलबाट चालक आए। मैले ‘किन नो–पार्किङमा गाडी राख्नुभएको, तपाईंले गर्दा कस्तो जाम भयो हेर्नुहोस् त’ भनेर भनेँ। ती चालकले मलाई घुरेर हेरे। तर, केही बोलेनन्।
मैले सवारी आवागनमा बाध पुर्याएकोमा उनको गाडीको कागजपत्र मागेँ। ‘नयाँ गाडी हो, बिलबुक आएको छैन,’ ती चालकले भने। उनले गाडी किनेको रसिद देखाए। ‘यो रसिद ट्राफिकले लिँदैन,’ मैले भनेँ, ‘यसबाट हामीले कारबाही गर्न मिल्दैन।’ उनी चुप्प लागेर बसे। मैले ‘बिलबुक नभए लाइसेन्स दिनुस्’ भनेँ। ती चालकसँग त लाइसेन्स पनि छैन रहेछ। उनले सिधै ‘लाइसेन्स छैन’ भने। ‘अनि बिनालाइसेन्सै गाडी चलाउने त, हिँड्नुस् ट्राफिक प्रहरी कार्यालय,’ मैले भनेँ, ‘तपाईंलाई अब छाड्न मिल्दैन।’ हामी कुरा गर्दागर्दै एक जना महिला र उनकी छोरीजस्ती देखिने युवती कारमा आएर बसिरहेका थिए। चालक ट्राफिक प्रहरी कार्यालय जान आनाकानी गर्न थाले। म कारको अगाडि आएर बसेँ। उनलाई ‘जावलाखेल जाउँ’ भनेँ। गाडी कुमारीपाटीबाट जावलाखेलतिर अघि बढ्यो। उनले एनसेलको कार्यालय अगाडिबाट लगनखेलतिर घुमाए। र, ‘मलाई ओर्लन’ भनेँ। मैले ‘तपाईंहरूलाई ट्राफिक कार्यालय नलगी छाड्न मिल्दैन, झगडा नगर्नुस्’ भनेँ। यति भन्नु के थियो, गाडीमा पछाडि बसेकी महिला ओर्लेर मेरो कठालो समाइन्। मलाई हातपात गर्दै फुटपाथमा लगेर पछारिन्। उनको ज्यान ठूलो थियो। म लडिहालेँ। मलाई भुइँमा लडाएर ती महिला कारमा गएर बसिन्। चालकले कार अघि बढाउन खोजे।
आफू गल्ती गर्ने र कारबाही गर्न खोज्दा बीच सडकमै ट्राफिक प्रहरीमाथि हातपात भएपछि एक जना मोटरसाइकल चालक मलाई सहयोग गर्न अघि सरे। उनले आफ्नो मोटरसाइकल गाडीसामु रोकेर तिनीहरूलाई भाग्न दिएनन्। चालकले कार पछाडि ब्याक गरे। पछाडि टेम्पो थियो। कार त्यसैसँग ठोक्कियो। बर्दीमा रहेका प्रहरीमाथि हातपात भएर होला, एकैछिनमा सर्वसाधारणको भिड लाग्यो। त्यहाँ भेला भएका मान्छे ‘बर्दीको पुलिसलाई कुट्ने’ भन्दै कराउन थाले। उनीहरूलाई कुटपिट गर्ने र गाडी जलाइदिनेसम्मको धम्की दिए। मैले उनीहरूलाई सम्झाएर शान्त पारेँ। यसबीच स्थानीयले प्रहरीलाई खबर गरिसकेका रहेछन्। मैले पनि लगनखेल प्रहरीका असईसापलाई फोन गरेँ। एकैछिनमा प्रहरी आएर हामीलाई जावलाखेल ल्यायो। मलाई कुट्ने महिला अमेरिका बस्दै आएकी शोभा कार्की हुन् भन्ने सुनेकी छु। अमेरिकी नागरिकतासमेत लिइसकेकी उनी आफन्त भेट्न नेपाल आएको पछि पत्ता लाग्यो। कार चालक नुवाकोटका प्रकाश राई रहेछन्। ट्राफिक प्रहरीमा ड्युटी गर्दा यस्ता समस्या आइरहन्छन्। लाइसेन्स नभएर सवारी चलाउने, लाइसेन्स माग्दा कुटपिट गर्ने, धम्क्याउने, महिला ट्राफिकहरूलाई जिस्क्याउने, मापसे सेवन गरेर आएकाहरू लाइसेन्स दिन नमान्ने, समस्याबाट बच्न ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने– यी हामीले भोग्दै आएका सामान्य समस्या हुन्।
(प्रकाश ढुंगानासँग कुराकानीमा आधारित) यो पनिः जब महिलाले सडकमै ट्राफिक प्रहरीलाई पछारिन् )
सेतोपाटी बाट
No comments:
Post a Comment