Monday, June 19, 2017

शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

बनियानी (झापा), ५ असार । जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ ।

विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धानमा सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सिसी क्यामेरा जडानले जिल्लाको गतिविधिको निगरानीसँगै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको खोजीमा सहज भएको छ ।

सिसी क्यामेराले राजमार्गमा हुन सक्ने आपराधिक गतिविधिको निगरानी, कैदीबन्दीको क्रियाकलापको अध्ययनका साथै प्रहरी स्वयम्को पनि कामकारबाहीको निगरानी भएको प्रवक्ता शर्माले बताउनुभयो । ‘हिट एन्ड रन’का घटनामा अपराधी समात्न सहज भएको जानकारी दिंदै उहाँले भन्नुभयो, “केही साताअघि राति पैदल यात्रुलाई जोगाउने क्रममा काँकरभिट्टामा एउटा कारले प्रहरीलाई नै ठक्कर दिएर फरार भएपनि सिसी क्यामेरको फुटेजकै आधारमा समात्न सफल भयौँ ।”

प्रहरी पनि अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्ने जनगुनासो समाधान गर्न सिसी क्यामेरा प्रभावकारी बन्दै गएको प्रवक्ता शर्माले बताउँनुभयो । प्रहरी कार्यालय र मुद्दा शाखामा सिसी क्यामेरा जडान गरिएकाले कैदीबन्दीसँगै प्रहरीको गतिविधिमा पनि निगरानी भएको छ । झापाको चन्द्रगढी, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडमा राजमार्गसँग जोडिएको मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएकाले राजमार्गमा हुने हरेक पलको गतिविधि कैद गरिरहेको छ । पहिला राजमार्गमा ठाउँ–ठाउँ प्रहरी ढाट राखेर गरिने जाँच अहिले सिसी क्यामेराले गरिरहेको छ ।

अनारमनीस्थित इलाका प्रहरी कार्यालयले थुनुवाको निगरानी र बाहिरी गतिविधि नियाल्न एक÷एक थान क्यामेरा जडान गरेको छ । “सिसी क्यामराले मानसिक रुपमा पनि सबैलाई सचेत गराएको छ”, प्रहरी नायब निरीक्षक केशवबहादुर थेबेले भन्नुभयो, “थुनुवा भेट्न के–कस्ता व्यक्ति आउँछन्, त्यसको पनि रेडर्क गरिन्छ ।” आन्तरिक प्रयोगका लागि काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयले दुई थान क्यामेरा जडान गरेको छ ।

मुद्दा फाँट र केरकार गर्ने ठाँउमा एक÷एक थान क्यामेरा जडान गरिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार क्यामेरा जडानले सेवाग्राही र प्रहरी दुवैलाई जवाफदेही बनाएको छ । धुलाबारी चोकमा बजार क्षेत्रको सुरक्षाका लागि क्यामेरा जडान गरिएको छ । त्यसको निगरानी भने प्रहरीले नै गरिरहेको छ ।

दमकस्थित इलाका प्रहरी कार्यालयमा कार्यालयको प्रयोजनका लागि एक थान र बजार क्षेत्रको निगरानी गर्न आठ थान क्यामेरा जडान गरिएको थियो । अहिले सबै क्यामेरा बिग्रिएको प्रहरी नायब निरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । बिर्तामोड मुक्तिचोकमा जडान गरिएको सिसी क्यामेरा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको छ । ट्राफिक प्रमुख ढुण्डीराज गिरीले सिसी क्यामेराले सुरक्षा संवेदनशीलतालाई घटाउने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...