Thursday, June 15, 2017

प्रभावकारी महिला सहभागिताका लागि सङ्गठित हुन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, १ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका निकायमा महिलाको सहभागिता भए पनि अर्थपूर्ण सहभागिताका लागि प्रभावकारी रुपमा सङ्गठित हुन आग्रह गर्नुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा अन्तरपार्टी महिला सञ्जालका नेत्रीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले भन्नुभयो, “महिलालाई नेतृत्वमा ल्याउन ठूलै सङ्घर्ष गरियो, महिलाको सहभागिता बढेको छ, स्थानीय तहको निर्वाचनमा पनि ठूलै सङ्ख्यामा महिला निर्वाचित हुनुभएको छ, यो राम्रो पक्ष हो तर त्यो अझै पूर्ण छैन ।”

स्थानीय तहमा निर्वाचित महिलालाई आफ्नै योजना र विचारमा चल्न सक्नेगरी समाजको नेतृत्वमा सफल बनाउन लाग्नुपर्ने अध्यक्ष दाहालको जोड थियो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सहभागिताका लागि सहभागिताले अब अर्थ राख्दैन । प्रभावकारी रुपमा नेतृत्व गर्न सक्नेगरी अवसर पनि दिइनुपर्छ । महिला नेत्रीको स्तरवृद्धि गर्नेतर्फ पनि लाग्नुपर्छ । राजनीतिक पार्टी र नेताहरुले पनि त्यसबारे सोच्नुपर्छ । त्यसो भए मात्रै महिलाको सङ्ख्या र गुण दुवैमा वृद्धि गर्न सकिन्छ ।”

सञ्जालले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर हरेक गाउँपालिका र नगरपालिका प्रमुख र वडाध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न र दलित बस्ती नभएका स्थानमा अन्य समुदायका महिला उम्मेदवार हुने व्यवस्था गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको सञ्जालका सदस्य यशोदा सुवेदीले जानकारी दिनुभयो ।

भेटमा महिला नेत्रीहरुले संविधानको मर्म र भावनानुरुप मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्न पनि अध्यक्षलाई आग्रह गर्नुभएको थियो । भेटमा राजनीतिक दलसँग आबद्ध महिला सङ्गठनका नेत्री सहभागी हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...