काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भन्दै सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।
नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा दोस्रो हुन पुगेको भन्दै निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । पार्टीभित्रको आन्तरिक व्यवस्थापनको कमजोरीका कारण स्थानीय तहको निर्वाचनमा पराजय भोगेको उहाँको भनाई थियो ।
उहाँले केही दिनभित्र नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् र आफ्नो सचिवालय विस्तार गर्ने स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनमा नयाँ इट्टा थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनले सङ्घीय गणतन्त्रको आधार बलियो बनाएको छ ।”
नेता अधिकारीले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउन मधेसी दलले राखेका मागलाई मुख्य राजनीतिक दलहरू बसेर सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान र संविधान संशोधनका लागि सत्तापक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा सकारात्मक परिणाम आएपनि दोस्रो चरणमा आउन नसकेको बताउनुभयो । उहाँले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पुरा नगरे आफुहरू निर्वाचनमा नजाने अडान दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आँट गरे संविधान संशोधन हुनसक्छ ।”
No comments:
Post a Comment