Friday, July 14, 2017

एकीकृत विकासको अवधारणाअनुरुप अघि काम गर्नुपर्ने ः अध्यक्ष ओली

काठमाडौँ, ३० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाले एकीकृत विकासको अवधारणा अनुरुप काम थाल्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रथम नगरसभाको शुभारम्भ गर्दै उहाँले कामनपाले काठमाडौँ उपत्यकाभित्र रहेका ललितपुर महानगरपालिकालगायतका अन्य नगरपालिकालाई समेटेर सो अवधारणा अनुरुप विकास थाल्नुपर्ने बताउनुभएको हो ।

विकासको काम गर्दा आधुनिकताको नाममा आफ्ना गौरवपूर्ण संस्कृतिको पनि ख्याल गरिनुपर्छ भन्दै उहाँले कामनपाको भावी स्वरुपका लागि जनप्रतिनिधिले गुरुयोजना तयार पारेर अघि बढ्नपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले अहिलेका जनप्रतिनिधिलाई दुई वर्षअघि भूकम्पले भत्काएको भौतिक संरचनाका पुनःनिर्माणको दायित्व पनि ठूलो चुनौतीको रुपमा रहेकोे छ भन्नुभयो ।

आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम

नगरसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सक्षम युवा, उत्कृष्ठ खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी, सामाजिक विकास एवम् समाजकल्याणमा दायित्व, जनपयोगी शिक्षा, सक्षम नागरिक, स्थानीय सरकार पूर्वाधार विकासको आधार, उज्यालो काठमाडौँ, व्यवस्थित सहरी यातायात, सुरक्षा र विपत् व्यवस्थापन, सक्षम न्याय प्रणाली, आर्थिक विकास र समृद्धिजस्ता १९ बुँदे कार्ययोजना अघि सार्नुभयो ।

नीति तथा कार्यक्रमले आर्थिक विकास र समृद्धिलाई जोड दिँदै महानगरलाई आर्थिक समृद्धि र अवसरका रुपमा विकास गर्न, शैक्षिक, वाणिज्य र पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि लगानीमैत्री वातावरण बनाइने योजना समेटेको छ ।

त्यसैगरी विश्वका विभिन्न राष्ट्रका महानगरसँग भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य वातावरणसहितको सुन्दर काठमाडौँ अभियानलाई विशेष कार्यक्रमको रुपमा सञ्चालन तथा ‘हाम्रो काठमाडौँ उज्यालो काठमाडौँ’ अन्तर्गत महानगरपालिका क्षेत्रलाई अध्यारोबाट मुक्त गराई उज्यालो काठमाडौँ सहर बनाउने कार्ययोजनामा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...