काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा सरकारमा सहभागिता र संविधान संशोधनका विषयमा सामान्य छलफल भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको बैठकमा संशोधनको विषयमा सामान्य छलफल भएपनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए ।
आजको बैठकमा अध्यक्ष कमल थापाले हिजो बालुवाटारमा सत्तारुढ दलसँग भएका छलफलको ब्रिफिङ गर्नु भयो’, श्रेष्ठले भने, ‘सरकारमा सहभागिता र संशोधनका विषयमा सामान्य छलफल भएको छ । अब अर्को बैठकले ठोस निर्णय गर्नेछ । यद्यपी आजको बैठकले बजेट पास गर्ने सम्बन्धमा आवश्यक निर्णय गरेको श्रेष्ठले बताए ।
राप्रपाले संविधान संशोधन पारित गर्न सघाउने बताउँदै आएको भएपनि सो पार्टीभित्रकै विवाद रहेको बताइएको छ । यसअघि संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेकै अवस्थामा राप्रपाका १५ सांसद गायव भएका थिए ।
अब फेरि संशोधन पारित गर्नुपर्ने अवस्था आए सबै सांसदलाई कसरी मिलाउने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल भएको एक नेताले बताए । यद्यपी आजको बैठकमा भने सांसद रामकुमार सुब्बा र गणेश थापाबाहेक सबै सांसदको सहभागिता रहेको थियो ।
यसैबीच आजको बैठकले सरकारका विषयमा ठोस निर्णय नगरेपनि उपप्रधानमन्त्री पाए सरकारमा जाने तयारीमा राप्रपा रहेको बताइएको छ ।
राप्रपा नेता दिलनाथ गिरीले आफूहरुले सम्मानजनक सहभागिता चाहेको भन्दै त्यो पूरा भएको खण्डमा सरकारमा सहभागिता रहने बताए । राप्रपाले सरकारमा जानका लागि एक समिति नै बनाएको छ । सरकारका विषयमा सोहि समितिले आवश्यक सहमति जुटाएर टुंगोमा पुग्ने प्रवक्ता सुशील श्रेष्ठले बताए ।
No comments:
Post a Comment