Sunday, August 27, 2017

पत्रकारको न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छ ः सञ्चार मन्त्री बस्नेत

काठमाडौँ, ११ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई आज यहाँ सम्मान तथा बधाई ज्ञापन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले ‘मिडिया हाउस’लाई सहयोग गर्ने बताउनुभयो ।

“श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर मिडिया हाउसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ र मन्त्रालयले पनि ती मिडिया हाउसलाई सहयोग गर्नुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । मन्त्रालयका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले अनुगमन गरिरहेको छ ।

मन्त्री बस्नेतले महासङ्घका संस्थापक सभापतिसमेत रहनुभएका सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान जतिसक्दो चाँडो बनाउने पनि जानकारी दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले लोकतन्त्रलाई बचाउँदै संस्थागत विकास गर्न सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, नियुक्त पत्र, भौतिक तथा पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका कटिबद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले समेत आज महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...