(अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका अध्यक्ष एवम सामाजिक व्यक्ति डा. केशब पौडेलले अमेरिकाका बिभिन्न शहरमा स्थापना हुन लागेका सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर)का लागी एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी पनि अध्यक्षका प्रत्यासी डा. पौडेलले मंगलबार एक अपिल जारी गर्दै सामुदायीक केन्द्र स्थापना एनआरएन अमेरीकाको एजेण्डा समेत भएकोले बिभिन्न शहरमा स्थापनाको चरणमा रहेका सामुदायीक केन्द्रका लागी आफुले व्यक्तिगत रूपमा एक लाख डलर दिने घोषणा गर्नुभएको हो ।
डा. पौडेलले जारी गरेको अपिलमा रिजउड नेपाली समाजले न्युयोर्कमा स्थापना गर्न लागेको सामुदायिक केन्द्रका लागी दश हजार डलर सहयोग गरेर सामुदायिक केन्द्रलाई प्रदान गरिने सहयोगको शुरुवात गरेको बताउनु भएको छ ।
अमेरीकाका बिभिन्न १५ वटा शहरमा सामुदायिक केन्द्रको स्थापनाको थालनी भएको आफुलाई जानकारी भएको बताउंदै डा. पौडेलले अहिलेको आवश्यकता र सार्थक प्रयासलाई साथ दिन आफुले सहयोगको घोषणा गरेको बताउनुभएको छ ।
समुदायले गर्ने हरेक कार्यमा व्यक्तिगत सहयोग र समर्थन रहने बताउंदै आएका डा. पौडेलले संस्थागत रूपमा पनि सहयोग र समर्थन जारी रहने बताउनुभएको छ ।
डा. पौडेलले जारी गरेको अपिलमा यस्ता उदाहरणिय कार्यका लागी सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो जानकारीमा रहेका १५ वटा सामुदायिक केन्द्रका लागी एक केन्द्र बराबर ५ देखी १० हजार डलर सम्म सहयोग गर्ने योजना रहेको डा.पौडेलले बताउनु भएको छ ।
सामुदायीक केन्द्र निर्माण एनआरएनको मुख्य एजेण्डा समेत भएकोले आफु लगायत सबैको साथ र सहयोगको खांचो रहेको पौडेलले बताउनुभयो ।
डा. पौडेलले जारी गरेको अपिल
हार्दिक अपील
आदरणीय नेपाली समुदाय, हार्दिक अभिवादन ।
अमेरिकका विभिन्न शहरमा नेपाली समुदायको अग्रसरतामा सामुदायिक केन्द्र (कम्यूनिटी सेन्टर) निमार्ण हुने क्रममा छन् । यो अहिलेको आवस्यकता र सार्थक प्रयास हो । मेरो जानकारीमा अहिलेसम्म १५ शहरमा यस्ता कम्यूनिटी सेन्टर निमार्णको पहल भईरहेको आएको छ । समुदायले गर्ने हरेक कार्यमा मेरो सहयोग र समर्थन रहने मैले पटक पटक प्रतिवद्धता व्यक्त गर्दै आएको कुरा यहॉहरुमा विदितै छ। कम्यूनिटी सेन्टर निर्माण हामी अमेरिकावासी नेपालीहरुको प्रमुख मुद्दाहरु मध्येको एक रहेको कुरा यसअघि नै वताउंदै आएको थिएं । यस क्रममा नेपाली समुदायले निमार्ण गर्ने विभिन्न शहरका कम्यूनिटी सेन्टरका लागि आगामी दिनहरुमा ५ देखि दशहजार डलर भित्र पर्ने गरि मैले जम्मा १ लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी गराउंछु । यसको शुरुआत आजै मंगलवार न्यूओर्क स्थित नेपाली रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्यूनिटी सेन्टरका लागि १० हजार डलर दिने घोषणा गरेको छु । यो सवै मेरो व्यक्तिगत सहयोग हो । यस वाहेक हाम्रो समुदायले गर्ने काममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका ९एनआरएन अमेरिका०का तर्फवाट संस्थागत समर्थन र सहयोग रहने छ। एनआरएन अमेरिकाको अध्यक्षका हैषियतले पनि म नेपाली समुदायसंग यस्ता कार्यमा सहयोग गर्न विनम्रतापूर्वक आग्रह र अपील गर्छु । र सहयोग दिने समुदायका सहयोगी मनहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
भवदिय
डा केशव पौडल
अध्यक्ष एनआरएन अमेरिका ।
No comments:
Post a Comment