काठमाडौँ, ७ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार निर्धारित समयसीमाभित्र प्रादेशिक र केन्द्रीय चुनाव सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल व्यापार सङ्घको २७औँ महाधिवेशनको आज शुभारम्भ गर्दै उहाँले संविधानअनुसार सबै निर्वाचन गरिएपछि देशमा संविधान पूर्णरुपमा कार्यान्वयन हुने र समाजलाई आर्थिक समृद्धितर्फ लैजान सकिने उल्लेख गर्नु भयो ।
दक्ष जनशक्ति उत्पादन गरी उद्योग, कलकारखाना सञ्चालन गरी देशमा आर्थिक गतिविधि वृद्धि गर्न सकिने बताउँदै उहाँले राजनीतिक स्थायित्वपछि मुलुकमा विभिन्न क्षेत्रबाट लगानी बढ्ने र रोजगारीका अवसर सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले व्यवसायीले नाफा आर्जन गरेपछि समयमा कर शुल्क बुझाउनुपर्नेमा जोड दिँदै त्यसले व्यवसायीको सामूहिक हित संरक्षण गर्न सकिने बताउनुभयो ।
सांसद रामहरि खतिवडाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने हुँदा सरकारले सो क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमरियाले गत वर्ष रु २४६ अर्ब राजश्वको लक्ष्य राखिएकामा सो पूरा भएको बताउँदै अहिले रु ३२६ अर्ब राजश्व लक्ष्य राखिएकोले त्यसलाई प्राप्ति गर्न व्यवसायीले समयमै कर बुझाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, नेपाल चेम्बर्स अफ कमर्सका कावा अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलगायतले निर्यातजन्य वस्तु आपूर्ति गर्न नसक्दा मुलुकमा करिब रु नौ खर्बको व्यापार घाटा कायम भएको त्यसमा पनि करिब रु छ खर्ब भारतसँग रहेको जानकारी गराउनुभयो ।
No comments:
Post a Comment