पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारत सीमामा भारतले बाँधेको बाँधका कारण नेपालको भूमि डुबानमा पर्ने गरेको विषयलाई भारतसमक्ष उठाउन सुझाव दिएका छन् । बाँधकै कारण वर्षेनी धेरै जनधनको क्षति हुने गरेको विषयलाई भारतीय प्रम नरेन्द्र मोदीसमक्ष हिम्मतका साथ राख्न नेता नेपालले भारत भ्रमणमा रहेका प्रम देउवालाई आग्रह गरेका हुन् ।
तराई मधेसमा विनाशकारी बाढी आएको एघार दिनपछि गृह जिल्ला रौतहट आएर बाढीपीडितको स्थलगत निरीक्षणपश्चात सदरमुकाम गौरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसित नेता नेपालले सीमामा भारतले एकतर्फी निर्माण गरेको बाँधका कारण नेपाली भूभाग डुबानमा परी वर्षेनी जनधनको क्षति हुने गरेको बताएका छन् । यस विषयमा भारतले पनि गम्भीर भएर विचार गर्नुपर्ने नेता नेपालले सुझाव दिएका छन् ।
बाढीबाट रौतहट लगायत तराईका अधिकाँश जिल्लाहरु डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीबाट मृत्यु भएका परिवार प्रति नेता नेपालले समवेदना व्यक्त गरेका छन् ।
नेता नेपाल रौतहटको यमुनामाईको जेठरहिया, दर्गाभगवतीको भलोहिया, गंगापिपरा, मत्सरी, गौर नगरपालिकाको विभिन्न वडाहरुमा स्थलगत रुपमा निरीक्षण गर्दा बाढी पिडितहरुको विजोग देखिएको स्पष्ट पारेका छन् । सर्वसाधारण नागरिक गम्भीर पीडामा रहँदा राज्य उदासीन रहेको आरोप नेता नेपालले लगाए ।
No comments:
Post a Comment