भक्तपुर, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताउनुभएको छ ।
आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको श्रावणी मेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “महिलालाई अवसर आएको छ । संसद्देखि स्थानीय तहसम्म जनप्रतिनिधि भएर काम गर्ने अवसर पाउनु नेपाली महिलाका लागि सामाजिक अवसर नै हो ।”
प्राचीन कालदेखि नै जीवन र जगत् चल्न महिला र पुरुषको समान भूमिका रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “धर्मशास्त्रमा पनि पहिला महिला अर्थात् लक्ष्मीको नाम आउँछ । त्यसैगरी अहिले महिलालाई पनि अवसर आएको छ ।”
महिलालाई आएको यो अवसरको सदुपयोग गर्नुपर्नेमा उहाँको जोड थियो । सबै मिलेर अगाडि बढे देश विकास टाढा नभएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कहीँ कतै ठाउँ पाइएन भनेर चित्त दुखाउनुपर्ने छ जस्तो लाग्दैन । फराकिलो चित्त पारेर अगाडि बढे समाज अगाडि बढ्छ ।”
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दा मौलिक स्वरुपको जगेर्नामा ध्यान दिनुपर्नेमा पनि राष्ट्रपति भण्डारीले सचेत गराउनुभयो । उहाँले मन्दिरमा प्रवेश गरेर पूजा एवं दर्शन गर्नुभएको थियो ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले कूल ५५ करोड रुपैयाँको गुरुयोजना बनाएर मन्दिरको पुनःनिर्माण शुरु गरिएको र दाताको सहयोग एवं चन्दाबाट पुनःनिर्माण अगाडि बढेको बताउनुभयो ।
समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्दिर पुनःनिर्माणका लागि पाँच करोड आर्थिक सहयोगको प्रतिबद्धता जनाई रु एक करोड ५० लाख सहयोग गर्ने दाता कृष्णगोपाल श्रेष्ठ, मन्दिरका संरक्षक भरतमणि जंगम, इञ्जिनियर कुमार उप्रेती, संस्थापक अध्यक्ष बालहरि चालिसे र एभिन्यूज टेलिभिजनलाई सम्मान गर्नुभएको थियो ।
No comments:
Post a Comment