Monday, September 25, 2017

समृद्धिका लागि एकतावद्ध भएर लाग्नुपर्छः अध्यक्ष गच्छदार

इटहरी, ९ असोज : नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले राज्यको हरेक तहमा समान सहभागिता गराउने अभियानमा आफूले जिम्मेवार भूमिका खेलेकै कारण आज मधेशवासीले समान अवसर पाउने अवस्थाको विकास भएर गएको बताउनुभएको छ ।

सो पार्टीले आज सुनसरीको इनरुवामा आयोजना गरेको पार्टी अगुवा कार्यकर्ता भेला तथा चाड विशेष समारोहमा उहाँले भन्नुभयो – “आफ्नो हकअधिकार, स्वाभिमान र सम्मानका लागि मधेशवासीले गरेको आन्दोलनलाई राज्यले उपेक्षा गरिरहेका बेला आफूले कठोर भई सो आन्दोलनको पक्षमा अडिग भएर काम गरेको हुँदा उनीहरुले समान अवसर पाउने वातावरण विकास भएर गएको हो ।”

अध्यक्ष गच्छदारले मधेश आन्दोलनका क्रममा ज्यान गुमाउनु परेकोका सबैलाई शहीद घोषणा गराउनेदेखि घाइतेको शीघ्र उपचार एवमं विभिन्न मुद्दामा फसाइएकालाई मुद्दा फिर्ता गराउने विषयमा पनि आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै पहाडी होस् वा मधेशी, हरेक नेपालीले समान अवसर र प्रतिनिधित्व पाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गराउन आफूले ठूलो योगदान गरेको बताउनुभयो ।

अहिलेको संविधान अपरिवर्तनीय नभएकाले जनताको चाहना र आवश्यकता बमोजिम यसमा क्रमश संशोधन हुँदै जाने बताउँदै उहाँले भन्नुभयो – “ नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि सम्बन्धीत सबै पक्षले इमान्दारी प्रयास गर्न सक्नुपर्दछ ।”

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका अध्यक्ष गच्छदारले मुलुक समृद्ध भए मात्र नेपालीको भाग्य र भविष्य सुन्दर भई संविधानको समेत सफल कार्यान्वयन सम्भव हुनेमा जोड दिदैं मुलुकको समृद्धिका लागि सबैले व्यक्तिगत तथा राजनीतिगत स्वार्थ त्यागेर सामूहिकताको भावनालाई पालन गरी अगाडी बढ्नुपर्दछ भन्नुभयो ।

“हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नेपाली हौँ भन्ने भावनाले प्रेरित भएर मुलुकको समृद्धिका लागि एकतावद्ध भएर लाग्नुको विकल्प छैन्,” उहाँले भन्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...