Tuesday, September 19, 2017

रत्ननगरमा शुभकामना आदानप्रदान कार्यक्रम, उद्योग व्यवसायको प्रवद्र्धनको लागि नगरपालिकाले सहकार्य गर्ने – उपमेयर दुवाडी

शिशिर सिंखडा
रत्ननगर, चितवन, २ असोज ।
पूर्वी चितवन स्थित रत्ननगर १ गंगा प्लाजाका व्यवसायीहरुको आयोजनामा आज (सोमबार) विजयादशमी, शुभदिपावली, छठ तथा नेपाल सम्वत्को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । गंगा प्लाजा व्यवसायी समितिको आयोजनामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको दिगो विकासमा गंगा प्लाजा व्यवसायीहरुको भूमिका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा समितिका सदस्य मोहन पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्योग व्यवसायको प्रवद्र्धनको लागि नगरपालिकाले सहकार्य गर्ने – उपमेयर दुवाडी

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले नगरभित्रका उद्योगी व्यवसायीको व्यवसायिक प्रवद्र्धनको लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने बताईन् । उद्योगी व्यवसायीहरुले आर्थिक वृद्धि गरेमा नगरपालिकाको समेत आम्दानी वृद्धि हुने भन्दै दुवाडीले नगरपालिका र व्यवसायीले हातेमालो गरी रत्ननगरलाई समृद्ध नगर बनाउनुपर्ने बताईन् । कुनैपनि पेशा, व्यवसाय गर्दा राज्यको कानुन दायराभित्र रही गर्न र पारदर्शी ढंगले काम गर्न समेत उपमेयर दुवाडीले व्यवसायीहरुसँग आग्रह गरिन् ।

अण्डरविलिङ्ग ठूलो समस्या – उ.वा.संघ अध्यक्ष रेग्मी

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले उत्पादन स्थल, भन्सारदेखि नै अण्डरविलिङ्गले गर्दा व्यवसायीहरुलाई समस्या भएको बताएका छन् । राज्यको अण्डरविलिङ्गको अवस्था अन्त्य गर्नुपर्ने बताउँदै यसले सरकारी तवरबाट हुने अनुगमन र व्यवसायीले लेखा राख्दा एवम् कर तिर्दा समेत समस्या हुने गरेको बताए । उद्योगी व्यवसायीहरुलाई अहिलेको अवस्थामा राज्यले काम गर्ने वातावरण सहज नबनाएको बताएका थिए । बैंक तथा वित्तीय संस्थाले दिनहुँ ब्याजदर बढाइदिने गर्दा त्यसको मर्का प्रत्यक्ष रुपमा व्यवसायीलाई परेको उनले बताए । राज्यले उद्योगी व्यवसायीहरुको समस्यालाई समाधान गरी काम गर्ने वातावरण तयार गरिदिन समेत अनुरोध गरेका थिए ।

सो कार्यक्रममा गंगा प्लाजा प्रोपर्टी प्रा.लि. का संरक्षक सन्ध्या लक्ष्मी चुकेले व्यवसायीहरुले आफ्नो थैली बलियो बनाउनु पर्ने र अर्कालाई दोषी देख्न नहुने बताईन् । त्यस्तै नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनकी अध्यक्ष पवित्रा जोशीले राज्यको नीतिभित्र बसेर व्यवसायीले काम गरेको र गर्ने बताउँदै अण्डरविलिङ्ग र दोहोरो मापदण्ड हुने खालको कार्य सरकारी तवरबाटै अन्त्य हुनुपर्ने बताईन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले रत्ननगर क्षेत्रमा भएको अनुगमनमा सरकारी तवरबाट व्यवसायीहरुलाई अनावश्यक दुःख दिइएको बताएका थिए । उनीहरुले विभिन्न सञ्चारमाध्यममा आएको समाचारको पनि खण्डन गरेका थिए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भीमनारायण श्रेष्ठ, गंगा प्लाजाका संरक्षक राजेन्द्र थापा, रत्ननगर कपडा व्यवसायी समितिका उपाध्यक्ष एकनारायण आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, पत्रकार महासंघ चितवनका सहसचिव सन्त कुमार चौधरी, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गंगा प्लाजा व्यवसायी समितिका अध्यक्ष केशरी भट्टराईको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...