खोलेसिमल, चितवन, भाद्र ३१ ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । शेयर सदस्यका छोराछोरी मध्ये प्लस टु तर्फ उत्कृष्ट अङ्क ल्याउने छात्र तर्फ विपु ओझा र छात्रा तर्फ सोनिका ढकाललाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य एकादत्त सिंखडा, संस्थामा कारोबार प्रवद्र्धन गर्न सहयोग गर्ने शेयर सदस्य ईश्वर कुमार श्रेष्ठ, बसन्त देवी पौडेल र बीज वृद्धि कम्पनी रत्ननगर १५ लाई पनि सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका व्यवस्थापक रोहित प्रसाद अधिकारी र कृष्ण प्रसाद सापकोटालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ र संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेले संयुक्त रुपमा सम्मान गरेका थिए ।
आर्थिक विकासको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने – मेयर श्रेष्ठ
संस्थाको आज आयोजित १०औं वार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आर्थिक विकासको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कालिका नगरपालिकाकै उत्कृष्ट संस्थाको रुपमा रहेको यस सहकारीले शेयर सदस्यहरुको आर्थिक विकासको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मेयर श्रेष्ठले देशको आर्थिक विकासको लागि सरकार, निजी क्षेत्र र सहकारीको उत्तिकै भूमिका रहेको बताए । ३ खम्बे अर्थनीति अनुसार अगाडि बढेमा देशकै आर्थिक विकास हुने समेत श्रेष्ठले बताए । यस नगरपालिकाको कृषि, पर्यटन र अन्य विभिन्न क्षेत्रमा सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको भन्दै मेयर श्रेष्ठले नगरभित्रको शक्तिखोर र सिद्धि क्षेत्रमा रहेका खोला र झरनाबाट विद्युत उत्पादन गरी आर्थिक विकास गर्न सहकारीसँग आफु समन्वय गर्न इच्छुक रहेको बताए ।
संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, सिद्धि विनायक आवासीय मा.वि. का प्राचार्य विष्णुमणि लामिछाने, शेयर सदस्यहरुको तर्फबाट दिपक लामिछाने, पासाङ लामा, रिता अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका लेखासमिति संयोजक शिशिर सिंखडाले आन्तरीक लेखा प्रतिवेदन, संचालक समिति सदस्य ओम प्रसाद लामिछानेले लेखापरीक्षण प्रतिवेदन र सचिव हरि प्रसाद भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष द्रोण प्रसाद लामिछानेले भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो संस्थाले आ.व. २०७३÷७४ मा ३८ करोड ४१ लाख ६९ हजार ४ सय ९७ रुपैया ६४ पैसा कारोवार गरेको थियो भने संस्थाले शुद्ध नाफा १ करोड ३ लाख ८ हजार ७ सय ८३ रुपैया १९ पैसा आर्जन गरेको थियो । संस्थाले स्थानीयस्तरमा विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास
संस्थाको १०औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको लागी प्रयास समेत भइरहेको संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेले जानकारी दिए । संस्थाको अधिवेशन सम्पन्न गर्नको लागि केशव लामाको संयोजकत्वमा हरि कडेल र कृष्ण प्रसाद भट्ट सदस्य रहेको निर्वाचन समिति समेत चयन भएको अध्यक्ष लामिछानेले जानकारी दिए ।
क्लवको आयोजनामा सरसफाई कार्यक्रम
पदमपुर, चितवन ३१ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नंं. ३ स्थित मिलिजुली युवा क्लवको आयोजनामा आज सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गरिएको छ । क्लवको आयोजनामा भएको कार्यक्रममा वडाभित्र सरसफाई गरिएको थियो । क्लवका अध्यक्ष रामचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाभित्रका विभिन्न वस्तीहरुमा ३ दिनसम्म झाडी सफाई तथा फोहोरहरु संकलन गरी वडालाई सफा र सुग्घर वडा बनाउन अभियान थालिएको क्लवका अध्यक्ष थिङले बताए । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष टिकाराज रिजालले झाडी सफाई गरी सो कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा क्लवका उपाध्यक्ष मरिचमान घलानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वस्ती सुधार समितिका अध्यक्ष कृष्ण बहादुर थिङ, क्लवका सल्लाहकार पूर्ण बहादुर बुढा, महिला विभाग प्रमुख रेखा स्याङतान लगायतका टोलवासीहरुले सरसफाई सँगसँगै सचेतनामुलक ¥याली समेत निकालेका थिए ।
शिक्षक संगठनको नगर अधिवेशन
खोलेसिमल, चितवन ३१ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिकाभित्रका शिक्षकहरुको भेलाले नेपाल राष्ट्रिय शिक्षक संगठन कालिका नगर अधिवेशन गरेको छ । सो भेलाले सूर्यभक्त अधिकारीको अध्यक्षतामा २२ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा दिपेन्द्र लम्साल, सचिव खोम बहादुर गुरुङ्ग, कोषाध्यक्ष हरि प्रसाद न्यौपाने लगायतलाई चयन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी, विशिष्ठ अतिथि कालिका नगरपालिकाका उपमेयर कमला भट्टराई, जिल्ला सदस्य जीत बहादुर भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो भेलाले प्रदेश प्रतिनिधिको लागि पूर्ण बहादुर पुरी, दिपक लामिछाने, सहदेव लकान्द्री र भिम कुमारी पौडेललाई चयन गरेको छ । त्यस्तै नेपाल शिक्षक महासंघ कालिका नगर कमिटीको लागि अध्यक्षमा जित बहादुर भट्टराई, सहसचिवमा देवनारायण भट्टराई, सदस्यमा रामप्यारी वि.क., हिमलाल श्रेष्ठ, धर्मेन्द्र जङ्ग रायमाझी र नन्दलाल लामिछानेलाई पठाउने निर्णय समेत गरेको छ ।
No comments:
Post a Comment