Sunday, September 24, 2017

भाषा संस्कृति नभए पहिचान गुम्छ : प्रधानमन्त्री देउवा

न्यूयोर्क, ८ असोज  ः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गर्नुभएको छ ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उहाँले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “नेपालमा लगानी र विकासका अथाह सम्भावना छन्, लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।”

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको नीति लगानीमैत्री भएको अवगत गराउनुभयो । उहाँले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपमरुपमा सफलतामा पुगेको बताउँदै विदेशमा रहेका नेपालीलाई आर्जन गरेको साधन, स्रोत र सीप लगानी मुलुकका निम्ति खर्चिन आग्रह गर्नुभयो । उहाँले संविधानअनुसारका तीनै तहका निर्वाचन सम्पन्नपछि मुलुक अब समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महावाणिज्यदूत मधुकुमार मरासिनीले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अन्य दुई तहमा निर्वाचन सम्पन्नपछि मुलुकमा राजनीतिक स्थिरता भई समृद्धि हासिल हुने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...