संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली जनसमुदायको आफ्नै पहलमा निर्माणाधिन “हिन्दु बुद्ध मन्दिर” को हालसम्मको कार्यप्रगती एवं आगामी भावी कार्ययोजना बारे बिस्तृत जानकारी सहितको “प्रत्यक्ष फेसबुक लाईभ अपडेट” कार्यक्रम लिएर हामी यहाँहरु माझ आउँदैछौं, हेर्न नभुल्नु होला।
वर्तमान विश्वव्यापिकरणको युगमा नेपालीहरु विभिन्न मुलुकमा पुगेसँगै आफ्नो भाषा, भेषभुषा, कला, संस्कृति, संस्कार, धार्मिक आस्था, रितिरिवाज, परम्परा र मुल्यमान्यताहरुलाई पनि साथमै लिएर जाने अर्थात ती मुलुकहरुमा समेत अवलम्वन गर्ने गरेको पाईन्छ । यस्तै सन्दर्भमा, आजभोलि अमेरिकाका विभिन्न राज्यहरुमा नेपाली समुदायले पनि आपसमा मिलेर विशेष गरि धार्मिक मठमन्दिर, सामुदायिक सांस्कृतिक केन्द्र स्थापना गर्ने कामले तिब्रता लिन थालेको छ । यसैगरि मेरिल्याण्ड, डि.एम.भी एरिया (डिसी मेट्रो क्षेत्र) मा पनि यस्ता धरोहरहरु निर्माणको कामहरू शुरु हुन थालिसकेको छ भने पछिल्लो समयमा नेपाली समुदायमा यो व्यापक चर्चाको विषय बनेको छ ।
नेपाली समुदाय बाक्लिँदै गए संगै समुदायको आवस्यकता र चाहनालाई मध्यनजर राख्दै मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत डिसेम्बर महिना देखि विभिन्न सामाजिक अभियान्ता र स्वत् स्फुर्त स्वयंसेवकहरुको विशेष पहलमा “हिन्दु बौद्ध मन्दिर ” स्थापना गर्ने गरि पहलकदमी अगाडी बढाईएको थियो । जसको लागी यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई अत्यन्तै पायक पर्ने स्थानमा जग्गा जमिन र साथमा केही भवनहरु समेतको अनुकुल स्थल सुपथ मुल्यमा लिने काम पनि सम्पन्न भइसकेको छ भने हाल सो स्थानमा उपलव्ध मुख्य भवनलाई मर्मत संभार/ रिकन्सट्रक्सन गर्ने काम भईरहेको छ । करिव ३१ एकड विशाल क्षेत्रमा फैलिएको उक्त मन्दिर निर्माण स्थलमा अन्य विभिन्न सामुदायिक महत्वको विभिन्न कार्यक्रमहरु समेत संचालन गर्न मिल्ने गरि विभिन्न परियोजनाहरुको समेत शुरुआत भइसकेको छ। नेपाली समुदायको धार्मिक गतिविधी, विवाह ब्रतबन्ध चाडपर्व लगायतका संस्कारगत कार्य एवं विभिन्न खेलकुद गतिविधी गर्न मिल्ने गरि खेलकुद मैदान, खेल सामाग्रीहरु समेत व्यवस्था गर्ने गरि कामहरु अगाडी बढिरहेको छ ।
यी सबै कार्यहरु पुरा गर्नका लागि अहिले सम्म निरन्तर रुपमा नेपाली समुदाय र अन्य समुदायहरुबाट समेत आर्थिक सहयोगहरु जुटिरहेको छ । मन्दिर परिसरको सरसफाई देखि विभिन्न कार्यमा स्वतस्फुर्तरुपमा युवा स्वयंसेवकहरुले श्रमदान दिने क्रम शुरु देखि नै चलिरहेको छ । प्रत्यक्ष एवं परोक्षरुपमा विभिन्न तवरबाट सबै क्षेत्र, व्यक्तीहरु, स्थानीय निकाय तथा सामाजिक संघसंस्थाहरुबाट उत्तिकै साथ र सहयोग मिलिरहेको छ । यति हुँदाहुँदै पनि अहिले सम्म हाम्रो यस आस्थाको धरोहर “हिन्दु बौद्ध मन्दिर ” को निर्माण कार्य कुन तवरले अगाडी बढिरहेको छ? मन्दिरको साथमा के के अन्य सुविधाहरु उपलव्ध हुन सक्छ? समुदायको अपेक्षाहरु के कति संबोधन हुन सक्छ? कसरी यसलाई धार्मिक-सांस्कृतिक केन्द्रको रुपमा विकसित गरिदैछ? यसको निर्माणले यस क्षेत्रमा बसोवास गर्ने नेपाली समुदाय र परिवारहरुलाई के कस्तो सकारात्मक प्रभाव पार्छ? भाषा-संस्कृतिलाई प्रवर्धन गर्न के कस्तो योगदान पुग्न सक्छ ? साथै हाल सम्म के कति आर्थिक सहयोगहरु कसरी जुटिरहेको छ? र अझै के कति सहयोग अझै जुटाउनु आवस्यक छ ? भविस्यमा यो धरोहरलाई निरन्तर रुपमा विकसित गर्दै लैजान र संचालन गर्न के कस्ता योजनाहरु छन्? लगायत जिज्ञासाहरु र यही निर्माणाधीन मन्दिर तथा सामुदायिक केन्द्र कै सेरेफेरोमा रहेर यस बारे हिजो आज र भोलीका सम्पुर्ण जानकारीहरु समुदायलाई दिने हिसावले यस मन्दिर निर्माण परियोजनामा सकृय रुपमा अहोरात्र लागि रहनुभएका विशेष ज़िम्मेवार व्यक्तित्वहरुसँग गरिन लागेको प्रत्यक्ष कुराकानीमा सहितको विशेष कार्यक्रम लिएर हामी आउँदैछौं।
सधैं झैं यहाँहरुकै सहि सुचना र संचारको सहयात्री “इनेप्लिज डट कम”, स्थानीय “मेरिल्याण्डका हामी नेपाली” लगायतका सामाजिक संजालहरु मार्फत आउँदो केहि दिनमा नै फेसबुक लाईभ मार्फत यस डि.एम.भी एरिया लगायत संसारभर छरिएर रहनु भएका सम्पुर्ण आदरणीय नेपाली दाजुभाइ, दिदिबहिनी तथा परिवारजनहरुलाई हामी “हिन्दु बुद्ध मन्दिर” को यस महान अभियानमा जोड्दैछौं ।
प्रत्यक्ष कार्यक्रममा आफ्ना अमुल्य साथ, सहयोग र सल्लाह-सुझावहरु सहित सम्बन्धित बिषयमा आफ्ना मनमा लागेका जिज्ञासा वा प्रश्नहरु भए कमेन्ट बक्समा लेखि हामीलाई सहयोग गरिदिनु हुन पनि हाम्रो सबैमा अनुरोध छ जसलाई हामी महत्वका साथ जवाफका लागी समावेश गर्ने प्रयास गर्नेछौं।
विशेष धन्यवाद /लेख: प्रकाश श्रेष्ठ, बाल्टिमोर
IVE!! #समय_सन्दर्भ
“हिन्दु बुद्ध मन्दिर” सम्बन्धि बिस्तृत जानकारी सहितको प्रत्यक्ष प्रशारण कार्यक्रम
मिति: सेप्टेम्बर १७ तारीख, आइतबार
समय: साँझ ७:३० बजे
इनेप्लिज फेसबुक लाइभ कार्यक्रम मार्फत
No comments:
Post a Comment