Tuesday, September 5, 2017

रिजउड नेपाली समाजको सप्ताहव्यापी महापुराणको संपन्न -अध्यक्ष रवि किरण कोईराला

आदरणिय अमेरिकामा रहनुभएका जनसमुदायहरुः

न्युयोर्कमा दुर्गा मन्दिर एवं सामुदायिक भबन निर्माण गर्ने महान उद्देश्यका साथ रिजउड नेपाली समाजले सप्ताहव्यापी महापुराणको आयोजना गर्यो । वाचन प्रवीण दीनवन्धु पोखरेलको प्रमुख वाचकत्वमा सम्पन्न भएको महापुराणमा समाजले अपेक्षा गरेको भन्दा भव्य, सभ्य र उत्साहजनक सहभागिताका साथै सहयोग रकम पनि संकलन भयो ।

अमेरिकामा रहनु भएका तपाई सम्पूर्ण नेपालीहरुको सच्चा मनको सहयोग र रिजउड नेपाली समाजको पवित्र उद्देश्य बीचको तालमेलका कारण हामीले यो सफलता हासिल गरेका हौं । महापुराणबाट १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्स सहयोगको प्रतिवद्धता प्राप्त भएको छ । जसका कारण हामी उत्साहित हुनुका साथै दुई वर्षभित्र दुर्गा मन्दिर एवं सामुदायिक भवन निर्माण गर्ने प्रतिवद्धता गरेका छौं ।

यो सफलता रिजउड नेपाली समाजको एक्लो प्रयासले भएको पक्कै होईन । हाम्रो सहि उद्देश्यमा साथ दिनुहुने तपाई सम्पूर्ण दाता, भक्तजन एवं शुभचिन्तकहरु नै हाम्रो सफलताका मूल कडि हुनुहुन्छ । जुन उद्देश्यले हामीले कार्यक्रम गर्यौ र सफलता हासिल गर्यौं, त्यसको एक साता पनि वित्न नपाउँदै केहि सञ्चार माध्यममा सिंगो समाजको पवित्र उद्देश्य र आम अमेरिकावासी नेपाली एवं नेपाली भाषी समुदायलाई भ्रम सिर्जना गर्ने गरी समाचार आउनु पक्कै पनि राम्रो होइन । त्यतिमात्र होईन वास्तविक तथ्यलाई नै तोडमोड गरी कुनै आधिकारिकता विना सामाजिक सञ्जालमा गरिएका बहस र प्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महापुराणको सफल समापन पछि हामीले यसको सम्पूर्ण हिसाव सार्वजनिक गरिसकेका छैनौं र त्यो प्रक्रिया अझै जारी छ । न त हामीले आधिकारिक रुपमा पत्रकार सम्मेलन वा प्रेस वक्तव्य नै जारी गरेका छौं । यो बीचमा कसलाई कति भुक्तानी गरियो र कसलाई कति भुक्तान गर्न बाँकी छ भन्ने सम्पूर्ण तथ्य हामीले सार्वजनिक गर्ने नै छौं ।

हामी सम्पूर्ण हाम्रा शुभचिन्तकहरुलाई सामाजिक सञ्जाल एवं केहि सञ्चार माध्यममा आएका भ्रमपूर्ण समाचारको पछि लागेर अनावश्यक टिप्पणी नगर्न अनुरोध गर्दछौं । कतै पत्रकारलाई रकम दिएको त कतै पण्डित दीनबन्धु पोखरेललाई ६० हजार अमेरिकी डलर भुक्तान गरेका अनेक भ्रमपूर्ण समाचारहरु सार्वजनिक भएका छन् । यी र यस्ता भ्रमपूर्ण समाचार र टिप्पणीले तपाई सम्पूर्ण दाता एवं शुभचिन्तकहरु दुःखी हुनु स्वभाविक हो । त्यसैले यस्ता समाचार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुको पछि नलाग्न र रिजउड नेपाली समाजले सार्वजनिक गर्ने वक्तव्यको प्रतिक्षा गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।

रवि किरण कोईराला
अध्यक्ष
रिजउड नेपाली समाज, न्यूयोर्क, अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...