Sunday, September 17, 2017

डाँडाका छालहरूमा

डाँडाका छालहरूमा
कुहिरोको टोपि पहिरेर
जूनेली चित्रमा
अनुबाद हुन खोज्दैछन् पहाडहरू
नदीका महान मूर्च्छनाहरू सुँघेर
खोजिरहेछु मैले कसैको
पहाडभन्दा अग्लो बिश्वास

साँझहरू सर्बस्व सुम्पेर
सपना देख्न लालायित छन्
जीवन भित्रका पिलपिले ताराहरूको
हरेक साँझ
पिउँदा पिउँदै थकित बनेको शरीर
र, यारचा गुन्भुको जोड घटाउ
ठूली भेरीको बहाब जस्तै अनन्त बनेको छ
जसरी
पत्नी बनाईसकेपछि
गुमनाम भागेको
पतिको संझनालाई इख्याउँदै
पालैपालो जिल्लाका
ठूला हाकिमहरूलाई
स्कचका बोतलबाट
झिँगिन टि सर्ब गरेर
ईच्छा आकाँक्षाका सूचिहरू
सूचिकृत गराउँन
सफल छे हरेक साँझ
सहरकै सर्बोत्कृष्ठ मैतालु मैसाब

शहरका
घरका छानामाथि ठड्याइएका लिँगाहरूमा
मायाका नेजा फेर्ने हतारो छ हरेक नीला शरदहरूमा
लुकिचोरी लाएको मायाको मोल
नौ लाख चुक्ता गरेको छ भर्खरै
भियाग्राको पारखी यारचा ब्यापारीले
हरेक क्षण चुकुलको चाँजोपाँजोमा तम्सिरहेका
सरकारी कर्मचारीहरूबाट
तल्लो दुनैदेखि उपल्लो दुनैसम्मका होटलहरूमा
कटुवाल घोषणामा हुँदैछ
पाएको,लाएको र खाएको
पारदर्शनको
जागिरमा भर्खर छिरेका लोक सेवाका प्रिय पात्रहरू
‘यसमा के छ ?’ र ‘ यो के कुरा हो ? ‘ को जबाफ खोज्दै
भौतारिरहेछन् भेरीका किनारहरूमा
उता भर्खरैको निर्वाचनमा
जोड घटाउ बिगार्न सफल जनप्रतिनिधि
दफा उपदफा लेखेको पुस्तक नभेटेर
र, आफ्नै अनुकुलको कर्मचारीको ब्याख्यामा धर्मराएर
भाषणमा जुटेको छ
कर्मचारीले बिकास निर्माणमा सहयोग नगरेको बिषयमा

जुफाल ,मोतिपुर र कार्कीबाडाबाट
पाचघण्टा पैदल हिंडेर
दश रूपैयाँ दाना स्याउ बेचेका
रानीसाहेब र मैसाबहरूले
झिसमिसेमै सुरूप सुरूप पिएका छन्
सिन्के चाउचाउको पिरो झोल
र किनेका छन् साँझलाई
एक बोतल खोयाबिर्के
फर्कदा भेरीको झोलुँगे पुल तरेर
माग्दैछन् डाक्टर श्रीकान्त अग्रवालसंग
रातमा पसिना आउँने र दिनमा पेट फूल्ने
रोगको औषधि
भित्रभित्रै उगुच पल्टेका कयौ घाउहरूले
टनटनि दुखाइरहन्छ रात र दिनलाई
त्यो सबै डाक्टरलाई देखाउन
लाज लागिरहेछ उनीहरूलाई

जिल्लाको ब्यथा टुँगियोस् जिल्लामै
नआओस् राजधानीमा
एउटा गहन चिन्तनमा छ सिँहदरबार
उता छार्का ताँगसोँग,भिजेर,तिन्जे र सालदाँगमा
राज्य पुग्नै नसक्ने निर्णयमा पुग्यो
जिल्लाका भद्र भलाद्मी र कर्मचारीको बैठक

लावन,शहरतारा र धो तिरबाट झरेका
एकहूल घोडचढीहरू
भर्खर ओर्लेका छन् पहेला घोडाहरूबाट
ठूलीभेरीलाई कहाँनेर थिचेर
बिच्छ्याउन सकिन्छ एउटा आरामदायी ओछ्यान
कर्के नजरले हेर्दैछन् कुना कुनाका मान्छेहरू

हतारमा गाँसिएको एउटा दूनो
फनफनी घुमिरहेछ
भेरीको अलल्ले छालहरूमा

दुनै,डोल्पा,२०७४ भाद्र ३० गते शनिबार ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...