Tuesday, September 12, 2017

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म

गौशाला, २८ भदौ । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ ।
जलेश्वर नगरपालिकाबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले यस नगरलाई नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् । उनले नेपाली काँग्रेस विकासप्रेमी पार्टी भएको भन्दै विकासलाई पहिलो प्राथमिकतामा राखेर जलेश्वरलाई नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

त्यस्तै, यस नगरपालिकाबाट नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार माधव मण्डलले जलेश्वरमा रिङरोड बनाउने प्रलोभन दिँदै जनतासँग भोट माग्न व्यस्त देखिएका छन् । उनले जलेश्वरमा बाटोघाटोको समस्या रहेको र ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने तथा पैदलयात्रीलाई समस्या हुने गरेको भन्दै एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने प्रतिबद्धता प्रकट गरेका छन् ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवको नगरी यस जलेश्वर नगरपालिकालाई पर्यटकीय रुपमा देश विदेशमा चिनाउने गरी यसको विकास गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट मागिरहेका छन् ।

उनले जलेश्वरमा पर्यटनको ठूलो सम्भावना रहेको तर यसको व्यापक प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको भन्दै माओवादी केन्द्रले जिते जलेश्वरलाई देश विदेशसम्म पहिचान कायम हुनसक्ने गरी पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

पछिल्लो मधेश आन्दोलनको परिणामस्वरुप जन्मेको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले राजपाले जलेश्वर क्षेत्रका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा जलेश्वर नगरको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् ।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आ–आफ्ना भोट मागिरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...