शिशिर सिंखडा
कालिका, चितवन १७ भाद्र ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सत्ता समिकरणमा रहेका दलहरु निर्वाचन आचारसंहिता उल्लंघन गर्न उद्धत रहेको बताएका छन् । जसरी पनि २ नं. प्रदेशमा स्थानीय निर्वाचन जित्नुपर्छ भन्दै सत्ता, शक्ति र सरकारी ढुकुटीको दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताए । नेकपा एमाले कालिका नगर आयोजक कमिटी चितवनद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शुक्रबार खोलेसिमलमा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता नेपालले एमालेको जनलहर देखेर सत्ताधारीहरु अत्तालिएको बताए । २ नं. प्रदेशमा पनि नेकपा एमाले प्रथम हुनुको विकल्प नभएको भन्दै नेपालले जनमुखी काम गर्ने एमाले पार्टी वृद्धवृद्धा, महिला, आदिवासी, मधेसी, हिमाली, पहाडी लगायत सबैको भरोसाको पार्टी भएको समेत बताए ।
एमाले नेता नेपालले यस नगरपालिकाको शक्तिखोर क्षेत्रमा माओवादी लडाकु शिविर रहेको स्मरण गर्दै एमालेकै पहलमा लडाकुलाई सेना समायोजन गरी देशलाई शान्ति प्रक्रियामा अगाडि बढाई संविधान जारी गर्न सफल भएको समेत बताए ।
कालिका नगरलाई नमूना नगर बनाउन सुझाव पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपालले थुप्रै सम्भावना बोकेको चितवनकै महत्वपूर्ण स्थानमा रहेको यस नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गरी आर्थिक क्षेत्रको रुपमा विकसित गर्न सकिने बताए । निर्माणाधीन औद्योगिक क्षेत्रलाई व्यवस्थित र वातावरण मैत्री औद्योगिक क्षेत्र बनाई समृद्ध नगर बनाउन आफुले सक्दो सहयोग गर्ने बताए । नगरपालिकाको पहाडी भूभागको रुपमा रहेको शक्तिखोर, सिद्धिलाई पर्यटकीय क्षेत्रको रुपमा र साविक पदमपुर र जुटपानी क्षेत्रलाई आधुनिक कृषि क्षेत्रको रुपमा विकास गर्न सके यो नगर नमूना नगरको रुपमा समृद्ध कालिका बन्ने समेत उनले बताए ।
हालैको बाढीले प्रभावित क्षेत्रको अवलोकन समेत गरेका नेता नेपालले बाढी प्रभावितलाई तत्काल राहत र उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै सुकुम्बासी बस्ती व्यवस्थापन र समग्र कालिकाको विकासमा आफु सधै साथ रहेको समेत बताए । शक्तिखोरको कालिका मन्दिर परिसरमा निर्माणाधीन टावर तथा पार्कको अवलोकन, नगरभित्रको बाढी प्रभावित र सुकुम्बासी बस्तीको अवलोकन, भइरहेका विकास निर्माण कार्यको अवलोकन गरेका थिए । शक्तिखोर–हुग्दी सडक निर्माण आवश्यक नेता नेपालले शक्तिखोर–हुग्दी चेपाङ पैदल मार्गलाई स्तरोन्नती गरी व्यवस्थित सडक बनाउनुपर्ने बताए । यस सडकलाई छिटो भन्दा छिटो संचालन गर्न सके नारायणगढ–मुग्लिङ्ग सडकको विकल्पको रुपमा छोटो र भरपर्दो सडक सञ्जाल हुने समेत उनले बताए । सो सडक निर्माण पश्चात् छोटो र छिटो काठमाडौसंग सडक सञ्जाल जोडिने भएकोले यो सडक निर्माण गर्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत उनले बताए ।
१ सय भन्दा बढी एमालेमा प्रवेश
नेकपा एमाले कालिका नगर आयोजक कमिटीद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, विभिन्न मधेशवादी दल र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी १ सय भन्दा बढी व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले टिका र माला लगाई पार्टी प्रवेश गराएका थिए । नगर आयोजक कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, उपमेयर कमला भट्टराई, जिल्ला सचिवालय सदस्य जयचन्द्र प्रसाद चौधरी, जिल्ला सचिवालय सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, युवा तथा खेलकुद विभाग जिल्ला सदस्य दिपक लामिछाने, नगर सचिवालय सदस्य केशव लामा, नगर आयोजक कमिटीका संयोजक भिष्म प्रसाद खनाल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
No comments:
Post a Comment