खुल्ला तथा बाल कविता प्रतियोगिता, सम्मान कार्यक्रम, पुस्तक विमोचन एवं समीक्षा लगायतका विभिन्न पक्षहरु सँगालेको बृहद् साहित्यिक कार्यक्रम नर्थ क्यारोलाइनाको शार्लोटमा गत आइतवार (सेप्टेम्बर ३, २०१७) सम्पन्न भएको छ। नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिकाको १३ औं संयुक्त सम्मेलनको अवसरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना शाखाले आयोजना गरेको उक्त कार्यक्रम शाखाका अध्यक्ष मनोज प्रधानको सभापतित्व एवं अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
वरिष्ठ साहित्यकार कृष्ण धरावासी, साहित्यकारहरु सीता पाण्डे, नीलम कार्की निहारिका, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको सन्चालन विक्रम गौतमले गर्नुभएको थियो भने अनेसासका अध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तव्यको क्रममा संस्थाको गतिविधि बारे जानकारी गराउनु भएको थियो।
कार्यक्रमको पहिलो चरणमा ‘डायस्पोरामा नेपाल’ विषयवस्तु रहेको खुल्ला कविता प्रतियोगितातर्फ बाह्र र विषयवस्तुको कुनै बन्देज नरहेको बाल कविता प्रतियोगितातर्फ छ जना प्रतियोगी कविहरुले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए। त्यस्तै कार्यक्रमको दोस्रो चरणमा पद्मश्री पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकालाई राजदुत डा. अर्जुन कुमार कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो भने सम्मानित साहित्यकार नीलम कार्की निहारिकाको बारेमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकार ईश्वर देवकोटाले मन्तव्य दिनुभएको थियो। त्यसै गरि समालोचक एवं साहित्यकार महेश पौडेलको भर्खरै प्रकाशित कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’ को पनि कार्यक्रममा लोकार्पण गरिएको थियो। कार्यक्रममा उपस्थित अर्का लेखक केन्नी पाण्डेले आफ्नो पुस्तक ‘अदर साइड अफ प्याराडैज’ को बारेमा श्रोताहरुलाई जानकारी गराउनु भएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले डायस्पोरिक नेपाली साहित्यको वर्तमान अवस्था र भविष्यको खाकाबारे जानकारी गराउनु भएको थियो। कार्यक्रमको अर्को चरणमा राजदुतबाट खुल्ला तथा बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने तीन/तीन जनालाई पुरस्कार प्रदान गर्नुभएको थियो। खुल्ला तर्फ सरिता दाहाल, गोमा पराजुली र बटु शर्मा क्रमश: पहिला, दोस्रा, र तेस्रा हुनुभएको थियो भने बाल प्रतियोगिता तर्फ शेस्त्रुमा पराजुली, अभि बस्ताकोटी र राजा तिमिल्सिना उत्कृष्ट तीन भएका थिए।
खुल्ला तर्फ ३०० डलरको पहिलो पुरस्कार सुजन न्यौपानेले, २०० डलरको दोस्रो पुरस्कार यम कुमार श्रेष्ठले, र १०० डलरको तेस्रो पुरस्कार डा. नारायण राजभण्डारीले प्रायोजन गर्नुभएको थियो। त्यस्तै बाल प्रतियोगिता तर्फ ५० डलर दरको उत्कृष्ट तीन पुरस्कार ईश्वर देवकोटाले प्रायोजन गर्नुभएको थियो। कार्यक्रममा सबै बाल प्रतियोगीहरुलाई प्रोत्साहन पुरस्कार पनि वितरण गरिएको थियो। कार्यक्रमको अन्तिम चरणमा अतिथि कविहरु डा. रामचन्द्र बराल, प्रेम संग्रौला, डा. ऋषि बस्ताकोटी, मन्जु विमली, राधा पौडेल लगायतले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो।
No comments:
Post a Comment