दुनै, डोल्पा ११ मंसिर : यहाँका ६६ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट मंसिर १३ गते मात्र सदरमुकाम ल्याइने भएको छ ।
मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले यही मंसिर १२ गते उपल्लो डोल्पाका २० वटै मतदान केन्द्रका मतपेटिका ओसार्न अनुरोध गरिए पनि जाजरकोट, कालीकोट, ताप्लेजुङलगायत संवेदनशील क्षेत्रका मतपेटिका पहिला ओसार्ने र त्यसपछि बुधबार मात्र उपल्लो डोल्पाका मतपेटिका ओसार्ने जानकारी सेनाले दिएको बताउनुभयो ।
अहिलेसम्म २७ मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैमा ल्याइपु¥याइएको र तल्लो डोल्पाका विभिन्न मतदान केन्द्रका मतपेटिका पनि ल्याउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
मलेखु (धादिङ)– विकट उत्तरी धादिङबाट समेत मतपेटिका नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरेर धादिङबेंसी सदरमुकाम ल्याइएको छ ।
जिल्लाका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो । उत्तरको अति विकट मानिएको रुबीभ्याली गाउँपालिका–८ मतदानस्थल, खनियाबास गाउँपालिकाका दुई मतदानस्थल र गंगाजमुना गाउँपालिकाका दुई मतदानस्थलका १७ मतदान केन्द्रका ५१ मतपेटिका आज हेलिकप्टरले सदरमुकाम ल्याएको हो ।
दार्चुला– मतपेटिका जिल्ला सदरमुकाम खलंगास्थित कर्मचारी आवास भवनमा ल्याइएको छ ।
विकट ठाउँ व्यास गाउँपालिकाकाको मतदान केन्द्रका मतपेटिका भने मंगलबार हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
ताप्लेजुङ – अति विकट क्षेत्रमा पर्ने मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ ।
अतिविकट क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका–६ मा पर्ने ग्याब्ला प्रावि, घुन्सा मावि र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आज अपराह्न सदरमुकाम फुङलिङ ल्याइएको हो ।
जिल्लाका ११४ केन्द्रमध्ये आज साँझसम्म ८७ ठाउँका मतपेटिका आइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य ठाउँका मतपेटिका पनि आउने क्रम जारी रहेको बताइएको छ ।
No comments:
Post a Comment