Tuesday, November 28, 2017

नेपाल र बंगलादेशका सूचना आयोगबीच सहकार्य योजनामा हस्ताक्षर

काठमाडौँ, १२ मंसिर  ः नेपालको राष्ट्रिय सूचना आयोग र बंगलादेशको सूचना आयोगबीच आपसी सहयोग आदान–प्रदान गर्नेसम्बन्धी कार्यान्वयनपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नेपालका तर्फबाट प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र बंगलादेशका तर्फबाट प्रमुख सूचना आयुक्त प्राडा गुलाम रहमानले हस्ताक्षर गर्नुभएको छ । बंगलादेशको आयोगका पदाधिकारी काठमाडौँ आएको समयमा हालै सो सम्झौता भएको हो । गत वर्ष बंगलादेशको ढाकामा दुई आयोगबीच समझदारीपत्र भएको थियो ।

दुई आयोगले प्रत्येक वर्ष उच्चस्तरमा भए गरेका कामको समीक्षा गर्ने तथा दुवै देशमा सूचनाको हकका क्षेत्रमा आयोजना हुने कार्यक्रममा एक अर्काे मुलुकबाट विज्ञका रुपमा आमन्त्रण गर्ने कार्ययोजनामा उल्लेख भएको आयोगले जनाएको छ ।

कार्ययोजनाअनुसार दुवै आयोगका कर्मचारी एक अर्काे आयोगको कार्य पद्धतिको जानकारी हासिल गर्न एक अर्काे मुलुकमा तालिममा जानेछन् । यस अतिरिक्त दुवै आयोगले आफ्ना प्रकाशन एकआपसमा साटफेर गर्नेछन् ।

यसैगरी दुवै मुलुकका विज्ञ र यस क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाबीच सहकार्यमा पनि दुवै आयोग संलग्न रहनेछन् । साथै यी दुई आयोगले दक्षिण एशियामा जारी भएका सूचनाको हकसम्बन्धी कानूनको समीक्षा गरी आ–आफ्नो कानूनमा आवश्यक सुधारको पहल गर्नेछन् ।

बंगलादेशबाट आएको प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरेको आयोगका उपचिव वेदनिधि अधिकारीले जानकारी दिनुभयो ।

क्यानडामा रहेको सेन्टर फर ल एण्ड डेमोक्रेसी नामक संस्थाले तयार पारेको सूचनाको हकसम्बन्धी कानूनको विश्वव्यापी उत्कृष्टताको सूचीमा बंगलादेशको कानून चौबिसौँ नम्बरमा परेको छ भने नेपालको कानून सत्ताइसाँै स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...