Sunday, December 10, 2017

आफू हारे पनि गठबन्धनले जितेकामा उत्साहित छु ः एमाले उपाध्यक्ष गौतम

काठमाडौँ, २४ मंसिर ः नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ ।

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि उपाध्यक्ष गौतमले आज एक विज्ञप्ति जारी गरी गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको अपार सफलताबाट ज्यादै हर्षित भएको उल्लेख गर्नुभएको छ ।

आफू व्यक्तिगत रुपमा पराजीत हुन परे पनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन भन्दै उहाँले जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाढ प्यार र विश्वासले अत्यन्त उत्साहित बनाएको बताउनुभएको छ ।

“यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ ऊर्जाका साथ लागिपर्ने विश्वास पनि दिलाउन चाहन्छु”, विज्ञप्तिमा भनिएको छ ।

एमाले उपाध्यक्ष गौतमले आगामी दिनमा राष्ट्र, राष्ट्रियता र जनताको हितमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै बर्दिया क्षेत्र नं १ का मतदाता एवं सम्पूर्ण जनतालाई मत दिएकामा आभार व्यक्त गर्नुभएको छ ।
गठबन्धनले प्राप्त गरेको अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपेको उल्लेख गर्दै उपाध्यक्ष गौतमले नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...