Saturday, December 30, 2017

काँग्रेसभित्र आन्तरिक मेलमिलाप आवश्यक ः युवा नेता

काठमाडौँ, १५ पुस ः नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताउनुभयो । “पुरानो डाक्टरबाट काँग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ”, नेता भण्डारीले भन्नुभयो ।

केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब काँग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताउनुभयो । उहाँले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट वितरण प्रक्रिया असमान हुँदा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । “प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीश महाभियोगलगायत प्रकरणका कारण पार्टीको जनमत घटेको हो”, उहाँले भन्नुभयो ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टीले कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वपंक्ति सच्चिनु जरुरी रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व सांसद कौशर शाह, नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नेवि संघ धादिङ जिल्लाका सभापति ईश्वर अधिकारी, नेवि संघका नेता निरञ्जन थापालगायतले काँग्रेसलाई पुनर्जागरण गर्न युवा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेवि संघ प्रदेश नं ३ का संयोजक एवं नेवि संघ उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्वाचनमा कमजोर नतिजा ल्याएको काँग्रेसलाई पहिलेको अवस्थामा पु-याउनका लागि नेवि संघले केन्द्र, प्रदेश, जिल्ला हुँदै गाउँसम्म पुनर्जागरण अभियान चलाउने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...