Saturday, January 27, 2018

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं, माघ १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् ।वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् ।

आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उनको भनाइ थियो । उनले कतिपय जनमैत्री निर्णय हुँदा पनि अनावश्यक टिप्पणी हुनु दुःखद भएको बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको बताए ।

उनले सहकारीका माध्यमबाट अस्पताल सञ्चालन गरेर जनमैत्री काम हुनु प्रशंसनीय भएको बताए ।कार्यक्रममा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सहकारीमार्फत जनताको सेवामा लाग्नु राम्रो भएको बताए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले सहकारीको माध्यमबाट सातै प्रदेशमा शाखा बिस्तार गर्ने गरी काम गर्न वीपी अस्पताल व्यवस्थापनलाई आग्रह गरे ।अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले शेयर सदस्यबाट उठाएको सानो रकमबाट अस्पतालले जनताको सेवा गरिरहेको भन्दै गरिब जनताको उपचारका लागि पनि छुट्टै कोष बनाएर काम गर्ने बताए ।अस्पताल आजैदेखि काठमाडौंको बसुन्धरामा आफ्नै भवनमा सरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...