Wednesday, January 3, 2018

चितवनको रत्ननगर–१२, स्थित घेघौलीका ८७ वर्षीय बन्धुराज न्यौपानेको बुधबार बिहान ६ बजे निधन भएको छ ।

लमजुङको दुराडाँडामा १९८८ मंसिर ७ गते जन्मिएका न्यौपाने २०१३ सालमा बसाइँ सरेर चितवन झरेका थिए ।
उनको श्रीमती निर्मलादेवी न्यौपाने, छोराहरु डा विजयराज न्यौपाने, रामहरि न्यौपाने, रामराज न्यौपाने रहेका छन् । यस्तै चार नाति र एक नातिनी छन् ।
उनको बुधबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका स्व न्यौपानेको सम्मानमा नेपाली कांग्रेसका पूर्वसभापति टीकाराम न्यौपाने, टेकप्रसाद गुरूङ सचिव उत्तम जोशी र राजीव न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व न्यौपानेको अन्त्येष्टिमा सयौँ शुभचिन्तक, इष्टमित्र तथा बन्धुवान्धवको सहभागिता रहेको थियो ।
न्यौपाने कल्याण समाज नेपालका महासचिव जगन्नाथ न्यौपानेले स्वर्गीय न्यौपानेको जीवनीबारे चर्चा गरेका थिए ।
स्व. न्यौपाने, न्यौपाने कल्याण समाजको अध्यक्ष, नेपाल परिवार नियोजन संघका संस्थापक सदस्य तथा पूर्वसदस्य, पञ्चकन्या गाउँ पञ्चायतका उपप्रधानपञ्च, पञ्चकन्या माविका पूर्वअध्यक्षलगायत विभिन्न संघसंस्था एवम् विद्यालय व्यवस्थापन समितिमा पूर्वअध्यक्ष रहेका थिए ।
संस्कृतको स्वाध्ययन गरेका न्यौपाने समाजसेवा, परोपकार र मानवसेवामा सक्रिय रहेका थिए । उनको निधनले न्यौपाने परिवारमा ठूलो क्षति पुगेको भन्दै भाइ तीर्थराज न्यौपानेले स्व. बन्धुराजको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैबीच, हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले आफ्नो ठूलो बुबा बन्धुराज न्यौपानेको निधनले स्तब्ध बनेको बताएका छन् ।
उनले शोक व्यक्त गर्दैै ठूलो बुबाको निधनले न्यौपाने परिवारमा अपूरणीय क्षति पुगेको जनाएका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...