Friday, January 26, 2018

‘निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा’

काठमाडौँ, १२ माघ :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो–“युवा विद्यार्थी भनेका आफैँमा जिज्ञासु, प्राविधिक रुपमा समेत सचेत वर्ग भएकाले देश विकासमा यही समूहलाई नेतृत्व दिन तयार हुनुपर्छ । राजनीतिक क्रान्ति सम्पन्न भएको छ, आर्थिक क्रान्तिका लागि अब युवा नै अग्रसर हुनुपर्छ” ।

आज आफ्नै निवास खुमलटारमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहितका विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उहाँले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताउनुभयो ।

शान्तिपूर्ण रुपमा तराई–मधेशको मागलाई संविधानको दायराबाटै पूरा गर्न सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो–“मधेशलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।”

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताउनुभयो ।
सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताउनुभयो ।

कार्यक्रममा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजितपप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुरलगायतका विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...