१८ पुस, डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म चुनावी खर्च बुझाएका छैनन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा डडेल्धुराका १६ मध्ये ६ उम्मेदवारले मात्र अहिलेसम्म चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचनको मतपरिणाम प्रकाशन भएको ३ साताभन्दा पनि बढी बितिसक्दा समेत अझै ८ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ ।प्रतिनिधिसभाको निर्वाचनमा खर्च विवरण बुझाउने उम्मेदवारहरुमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवारी दिएका कर्णसिंह रावल रहेको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै प्रदेशसभा तर्फ खर्च विवरण बुझाउने उम्मेदवारहरुमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार रघुवर भट्ट, राष्ट्रिय यथार्थवादी पार्टी नेपालका प्रदेशसभा ‘क’ का उम्मेदवार लालबहादुर दमाई, राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका चन्ऽसिंह बोहरा र राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार पदमबहादुर ओली रहेको जिल्ला निर्वाचन कार्यालयका डडेल्धुरा निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिएका छन् ।
खर्च विवरण बुझाउने ६ जना उम्मेदवार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । ६ जनाले निर्वाचन आयोगको सीमाभन्दा कम खर्च भएको विवरण पेस गरेको निर्वाचन अधिकारी नायकले अनलाइनखबरलाई बताए ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका जाग्रीले एक लाख ५२ हजार खर्च गरेको विवरण पेस गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका कर्णसिंह रावलले ४ लाख ४१ हजार खर्च भएको विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार रघुवर भट्टले निर्वाचनको सम्पूर्ण खर्च ९ लाख ५५ हजार खर्च भएको विवरण पेश गरेका छन् ।
राष्ट्रिय यथार्थवादी पार्टी नेपालका प्रदेशसभा ‘क’ का उम्मेदवार लालबहादुर दमाइले ६ लाख १२ हजार पाँच सय, राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका चन्द्रसिंह बोहराले निर्वाचनको खर्च ७७ हजार र राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार पदमबहादुर ओलीले ८२ हजार खर्च गरेको विवरण पेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख तथा प्रदेश सभा सदस्यका उम्मेदवार १५ लाख सम्म खर्च गर्नसक्ने निर्वाचन आयोगले सीमा तोकेको थियो ।
प्रनिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा(४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी नायकले जानकारी दिएका छन् ।
डडेल्धुराबाट चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैँ खर्च विवरण बुझाएका छैनन् ।
प्रतिनिधिसभा तर्फ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलितका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ ।
प्रदेशसभा सदस्य ‘क’ मा विजयी वाम गठबन्धनका पठनसिंह बोहराले पनि खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरेका छैन् । यस्तै प्रदेशसभा ‘ख’ मा विजयी कर्णबहादुर मल्लले पनि खर्च विवरण नबुझाएको कार्यालयले जानकारी दियो ।
वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ मा उम्मेदवार बनेका एमालेका डा. ताराप्रसाद जोशी र नेपाल दलित पार्टीका रामबहादुर टमाटाले समेत खर्च विवरण बुझाएका छैनन् ।
No comments:
Post a Comment