Saturday, January 6, 2018

विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धा जरुरी ः मन्त्री बस्नेत

बाह्रबिसे, सिन्धुपाल्चोक, २२ पुस  ः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीयतामा गइसकेकाले अब विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धाको खाँचो रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खाकदल–सिंगासे मोटर बाटोको शुभारम्भ गर्दै आज उहाँले नेताबीच विकासका लागि प्रतिस्पर्धा र जनता एकढिक्का हुनुपर्ने बताउनुभयो । “विकसित परिपे्रक्ष्यमा जनताले व्यवस्थाको प्रयोग गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले विकाससँगै गाउँगाउँमा रोजगारी भित्रिएको भन्दै रोजगारीले ग्रामीण क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्ने बताउँदै उहाँले सडक सञ्जालले मात्र मुलुकमा दिगो र सन्तुलित विकास हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताउनुभयो ।

सडक आयोजना समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो, “खाकदल–सिंगासे सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय विकास, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।”

कूल छ किलोमिटर लम्बाइको उक्त सडक रु १६ करोडमा निर्माण हुन लागेको छ, जसमध्ये रु सात करोड निकासा भइसकेको र बाँकी रकम पनि चाँडै निकासा हुने सडक डिभिजन कार्यालय, चरिकोटले जनाएको छ ।

विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु भएको उक्त आयोजना २०७६ असारमा सम्पन्न हुनेछ । उक्त सडक रौतहट हिमाली देवढुंगा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गर्न लागेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts