Saturday, January 27, 2018

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

भियना, १३ माघ (रासस/एएफपी) : सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको समाचार छ ।

भियनामा जारी रहेको संयुक्त राष्ट्रसंघले पुनः आह्वान गरेको वार्ताको प्रयास लगभग असफल हुने देखिएपछि यसका लागि रुसले पनि पहलस्वरुप आगामी हप्ता वार्ताको आह्वान गरेको थियो ।

यस वार्ता प्रयासलाई राष्ट्रसंघले सिरियाका लागि गरिएको एक अन्तिम आशाका रुपमा लिएको जनाएको थियो । तर पनि भियनाबाट राष्ट्रसंघीय अधिकारीले जानकारी दिएअनुसार वार्ताले सकारात्मक मोड लिने अवस्था देखिएको छैन ।

भियनामा केही दिनयतादेखि सिरियाको विपक्षी समूह, राष्ट्रपति बसर अल असदका पक्षधरहरुका साथै राष्ट्रसंघीय अधिकारीहरुसँग वार्ता भएको थियो । तर शुक्रबार रातिको पछिल्लो चरणको सो वार्ता सकारात्मक नभएको समाचार बाहिर आएको छ ।

सिरियाली मुख्य विपक्षी दलको तर्फबाट वार्ताका लागि निर्माण भएको समूह, सिरियन नेगोसिएसन्स कमिसन (एसएनसी) का प्रमुखले आफ्नो ट्वीटर अकाउण्टमा आपूmहरुले रुसले अर्काे हप्ता गर्ने भनेको शान्तिवार्तामा बस्न अस्वीकार गर्ने जनाएका हुन् ।

उनले सो जानकारी शनिबार बिहान गरेको ट्वीटमार्फत दिएका समाचारमा जनाइएको छ । यस विषयमा रुसको भने कुनै प्रतिक्रिया आएको छैन ।

सुरुमा वार्तामा बस्न असहमत भएको सिरियाली विपक्षी समूहका प्रतिनिधिहरु भियनामा वार्ताका लागि भने पछिमात्र सहमत भएका बताइएको थियो ।

सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्टुराले उक्त वार्ताको आयोजना र मध्यस्थता गर्नुभएको थियो । भियना वार्तामा उहाँ आफै पनि संलग्न हुनुहुन्थ्यो ।

उहाँले सिरियाली सरकारी र विपक्षको सहमतिमा यो वार्ताको लागि वातावरण बनेको उहाँले बताउदै यसलाई एउटा अन्तिम आशाको संज्ञा दिनुभएको थियो ।

सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि भएको यो अन्तिम प्रयास पनि असफलतातर्फ उन्मुख भएको बताइएको छ ।

सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि तीन लाख ४० हजार जना नागरिकको ज्यान गएको छ ।

साथै सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् । सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि राष्ट्रसंघले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...